जिल्ला अस्पतालमा फोहरको डङ्गुर

164
Shares

सोलुखुम्बु, ११ मंसिर –  जिल्ला अस्पताल फाप्लु पछिल्लो समय दुर्गन्धित बन्दै गएको छ । चार दिनदेखि बुबाको उपचारका क्रममा अस्पतालमा रहेका टाक्सिन्दु सोलुखुम्बुका छप्ते शेर्पा भन्छन्“बुबा त बिरामी हुनुभयो, म पनि यो अस्पतालको फोहरसँगैको दुर्गन्धले गर्दा बिरामी हुन लागेँ । छोराको उपचारका लागि तिंलाबाट फाप्लु आएका डाकबहादुर भुजेल अस्पतालको फोहर देखर चकित परेका छन् ।

“हैन अस्पताल पनि यति धेरै फोहर हुन्छ भन्ने सोचेको पनि थिइन, सबै शौचालयमा दिसा छरपस्ट देखिएको छ, अस्पतालको बेडदेखि आँगनभरि फोहर उत्तिकै छ, खुट्टा टेक्ने ठाउँ नहुने गरी फोहर हुँदा पनि सफा गर्ने मान्छे हँुदैनन् ?” भुजेलले प्रश्न गरे ।

श्रीमतीको उपचारका लागि तीन दिनदेखि अस्पतालमा बसेका जिल्ला शिक्षा कार्यालयका कर्मचारी नेत्रप्रसाद घिमिरे बाहिर निस्कन पनि नाक थुन्नुपर्दा हैरान भएका छन् ।

करारमा नियुक्त १२ कार्यालय सहयोगी रहेको जिल्ला अस्पतालको वरिपरि जताततै प्लास्टिक, कागज, च्यातिएको बोरा, सिसाका बोतल लगायत भेटिन्छ भने धारामा पानी छैन । शौचालयमा पानी नहँुदा जताततै दिसा छ भने बिरामी कुरुवा आफूहरु अन्यत्र दिसापिसाब गर्न गएको बताउँछन् । बहिनी बिरामी भाई भेट्न आएका शान्तबहादुर नेपाली दुई दिनदेखि अस्पतालमै छन् । उनले दिसापिसाब गर्नका लागि अस्पताल क्षेत्रमा शौचालय अनि पानीको व्यवस्था नहुँदा अन्यत्र होटलमा गएको बताए ।

जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख एवम् मेडिकल अधिकृत डा टङ्क कार्की नजिकै भवन निर्माण भइरहेकाले फोहर बढेको स्विकार्दै भन्छन् “कार्यालय सहयोगीलाई बारम्बार निर्देशन दिइएको छ, काम गरिरहेका नै छन् । धारामा पानी आउँदैन, सामान्य धाराको टि बिग्रँदा मर्मत गर्न आवश्यक सामग्री खरिद गर्ने अधिकार अस्पताललाई छैन, नीतिगत निर्णय गर्नका लागि अस्पताल विकास समिति हुनुपर्छ । अहिलेसम्म अध्यक्षको नियुक्ति भएको पत्र प्राप्त भएको छैन, त्यसैले काम गर्न कठिनाइ भइरहेको छ ।”

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रोशनलाल चौधरी केही समयमा अस्पताल र परिसर सफा बनाइने बताउछन्। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *