बिराटनगरमा मात्रै २३३ वटा क्लिनिक बिनादर्ता सञ्चालन
मोरङ २५ कात्तिक – विराटनगरमा दुई सय ३३ भन्दा बढी क्लिनिक बिनादर्ता सञ्चालन भइरहेका छन् ।दुई सय ५० भन्दा बढी क्लिनिकमध्ये १७ वटा मात्र क्लिनिक दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
बहुसङ्ख्यक क्लिनिक बिनादर्ता र गैरकानुनीरुपमा सञ्चालन भएका जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रशासकीय अधिकृत हरिबहादुर खत्री स्वीकार गर्छन् ।
स्वास्थ्य निर्देशिका, २०७० अनुसार सबै क्लिनिक तथा अस्पताल दर्ता गर्नुपर्ने प्रावधान छ । सो निर्देशिका बमोजिम अस्पतालले समेत अटेर गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रशासकीय अधिकृत खत्रीले भने, “कारबाही भने गर्न सकिन्छ तर त्यही अनुसारको प्रभावकारी कानुन बनाइनुपर्ने हुन्छ ।” उनले क्लिनिकहरुले उपभोक्ताको भन्दा पनि प्रतिस्पर्धाका आधारमा बजार मूल्य निर्धारण गर्ने गरेको बताए ।
मोरङमा दुई सरकारी र ३६ वटा निजी क्षेत्रका अस्पताल सञ्चालनमा छन् । ३६ मध्ये केही मात्र विराटनगरबाहिर भएपनि बहुसङ्ख्यक विराटनगरभित्रै छन् । रासस