ब्रेन ट्युमर भएका बालकको उपचारमा सहयोग

0
Shares

इटहरी, २३ भदौ – मोरङ बेलबारी–४ लालभित्तीका १२ वर्षीय ब्रेन ट्युमरपीडित बालक सलिम धिमालको उपचारका लागि बुधबार मोरङ–सुनसरी सेवा समाजले कतारमा रहेका नेपालीले पठाएको रु ८५ हजार ९४२ हस्तान्तरण गरेको छ ।

बेलबारी–४ लालभित्तीमा रहेको श्री शिक्षा सन्देश इङ्गलिस स्कुलमा अध्ययनरत सलिमको भारतको नयाँ दिल्लीस्थित गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य पारिवारिक अवस्था रहेको बाबु अर्जुन धिमालका छोरा सलिमको उपचारमा धेरै रकम खर्च लागेको र अरु उपचारका लागि परिवारले खर्च गर्न नसक्ने अवस्था सिर्जना भएपछि विद्यालयले नै सार्वजनिक सूचना जारी गर्दै उपचारमा सहयोग गर्न अपिल गरेको थियो ।

सलिमको उपचारका लागि सहयोगको अपिल सुनेपछि मोरङ–सुनसरी सेवा समाजले आफ्ना कतारमा रहेका सदस्यमार्फत जम्मा भएको उक्त रकम हस्तान्तरण गर्दै कसैले पनि खर्च अभावमा ज्यान गुमाउनु नपरोस् भनेर बालकको उपचारमा सहयोग गरेको समाजका सल्लाहकार गोपालबहादुर थापाले बताए ।

समाजका अध्यक्ष गोपीप्रसाद बिमली, महासचिव खगेन्द्र कार्की, सल्लाहकार गोकुलबहादुर थापालगायतले विद्यालयका प्रिन्सिपल र लालभित्ती युवा क्लब र बिरामी बालकका आफन्तलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।  भारतको गङ्गाराम अस्पतालमा उपचाररत बालकको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *