उपचार खर्च अभाव भएपछि अस्पतालबाटै हामफालेर आत्महत्या

bijaya khadka

काठमाडौँ, २२ भदौ – नेता तथा पहुँचवाला व्यक्तिको उपचारमा हरेक वर्ष सरकारले करोडौँ रकम बाँडिरहँदा एक युवकले भने उपचार खर्च अभावमा अस्पतालमै आत्महत्या गरेका छन् ।

दोलखा मालुका १९ वर्षीय विजय खड्काले मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् । दुवै मिर्गौला फेल भएका खड्काले त्रिवि शिक्षण अस्पतालमा डायलोसिस गराउँदै आएका थिए ।

डेढ वर्षयता उनले सातामा तीन दिन गराउनुपर्नेमा दुई दिन निःशुल्क र एक दिन आफ्नै खर्चमा डायलसिस गराउँदै आएका थिए । सातामा उनको तीन हजार रुपैयाँ खर्च हुने गरेको थियो ।

तर, परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनलाई उपचार खर्च जुटाउन समस्या थियो । ‘मिर्गौला प्रत्यारोपण गर्ने हामीसँग पैसा थिएन,’ मृतकका दाजु सुमित खड्काले भने, ‘साथीभाइ र आफन्तहरूसँग मागेर उपचार गराउँदै आएका थियौँ ।’

परिवारले विजयलाई अस्पतालमा आइतबार, मंगलबार र शुक्रबार डायलोसिसका लागि लैजाने गरेका थियो । मंगलबार र शुक्रबार निःशुल्क हुन्थ्यो भने आइतबार करिब तीन हजार खर्च लाग्थ्यो । साथीभाइसंग मागेर डायलोसिस गराउँदै आएको सुमितले बताए ।

‘उपचार खर्चको अभाव देखेरै उसले हामफालेको हुनुपर्छ,’ सुमितले भने, ‘हामीसँग उपचार खर्च भएको भए यस्तो अवस्था आउँदैन थियो होला ।’ साताको एकपटक डायलोसिस गर्दा तीन हजार, काठमाडौंमा भाडामा बस्दा महिनाको सात हजार र त्यति नै खानपानमा खर्च हुँदा ऋण थपिँदै गएको अर्का दाजु विनीत खड्काले बताए ।

उपचारमा समस्या भएपछि विजय केही दिनयता तनावमा रहेको र त्यही तनावमा उनले हाफफालेको हुनसक्ने पारिवारिक स्रोतले बतायो । उनको बेडमा फेला परेको सुसाइड नोटमा आफूले हामफालेर आत्महत्या गर्न लागेको उल्लेख छ । तर, अस्पतालको झ्यालमा ग्रिल नहुँदा घटना भएको भन्दै आफन्तले अस्पतालप्रति असन्तुष्टि जनाएका छन् ।

विजयले मंगलबार बिहान करिब एक बजे अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् । ‘म भुइँमा सुतिरेहको थिएँ,’ दाजु सुमितले भने, ‘ब्युँझिएर हेर्दा त ऊ तल भुइँमा मृत अवस्थामा भेटियो ।’

वार्षिक तीन हजारको मिर्गौला फेल

नेपालमा वार्षिक कतिको मिर्गौला फेल हुन्छ भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । तर, कामै नलाग्ने गरी करिब तीन हजार जनाको मिर्गौला फेल हुने गरेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । उनीहरूको मिर्गौला प्रत्यारोपण वा हेमोडाइलासिसको विकल्प नभएको श्रेष्ठको भनाइ छ ।

वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । नेपालमा एक वर्षमा करिब दुई सय जनाको प्रत्यारोपण हुने गरेको डा. श्रेष्ठ बताउँछन् ।

हेमोडाइलासिस निःशुल्क
सरकारले मिर्गौला फेल भएका बिरामीका लागि यस वर्षदेखि हेमोडाइलासिस सेवा निःशुल्क गरेको छ । यसअघि दु्ई वर्ष (एक सय चारपटक) का लागि मात्र हेमोडाइलासिस सेवा निःशुल्क गरेकोमा यस वर्षदेखि आजीवन निःशुल्क गरेको हो । मिर्गौला प्रत्यारोपण गर्न चाहानेका लागि पनि सरकारले शल्यक्रिया खर्च दुई लाख सीधै अस्पताललाई उपलब्ध गराउँदै आएको छ ।

प्रत्यारोपणपछि बिरामीलाई औषधि सेवन गर्न थप एक लाख दिँदै आएकोडा. श्रेष्ठ बताउँछन् । प्रत्यारोपणपछि बिरामीले पहिलो ६ महिना मासिक २० देखि २५ हजारको औषधि सेवन गर्नुपर्छ भने त्यसपछि नियमित १० देखि १५ हजारको औषधि सेवन गर्नुपर्ने हुन्छ ।

सरकारले विपन्न नागरिक उपचारअन्तर्गत हेमोडाइलासिस सेवा दिने अस्पताल र संस्थालाई उपचार खर्च उपलब्ध गराउँदै आएको छ । विपन्न नागरिक उपचारअन्तर्गत सरकारले मिर्गौलासहित अन्य आठ रोगको उपचारका लागि गत वर्ष एक अर्ब २० करोड खर्च गरेको छ ।

  • आजको नयाँ पत्रिकामा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *