ग्राण्डी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा

01

काठमाडौँ, ३१ असार – धापासीस्थित ग्राण्डी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । यो सहित उपत्यकामा मिर्गौला प्रत्यारोपण गर्ने अस्पताल चार पुगेका छन् ।

यसअघि त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण सेवा हुने गरेको थियो । गत वुधबार मिर्गौला फेल भएका काठमाडौँ गोकणेश्वर नगरपालिकाका ३७ बर्षीय रविन लामाको प्रत्यारोपण गरी ग्राण्डीले सेवा सुरु गरेको हो । उनलाई आफ्नी बहिनी ३५ बर्षीया उमा लामाले मिर्गौला दिएको प्रत्यारोपणबारे जानकारी दिन शुक्रबार अस्पतालद्धारा आयोजित कार्यक्रममा जानकारी दिइयो ।

प्रत्यारोपण सल्यक्रियाको नेतृत्व डा. प्रेमराज ज्ञवालीले गरेका थिए । त्यस्तै नेफ्रोलोजी टीमको नेतृत्व डा. दिव्यासिंह शाहले गरेकी थिइन् । दुवैजना त्रिवि शिक्षण अस्पतालका चिकित्सक हुन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले अन्तराष्ट्रिय स्तरको उपचार दिने लक्ष्यको साथ सेवा सुरु गरेको ग्राण्डीले नयाँ सेवा सुरु गरेको बताए । उनले अंगप्रत्यारोपणको नेपालको इतिहासमा कोशेढुंगा भएको दावी गरे ।

प्रत्यारोपणको नेतृत्व गरेका डा. ज्ञवालीले दिनानुदिन मिर्गौला फेल हुने संख्या बढ्दै गएको अवस्थामा ग्राण्डीमा सेवा सुरु हुनु खुशीको कुरा भएको बताए । उनले फेल भएका विरामीका लागि सहज र छिटो छरितो सेवा दिने कुरामा ग्राण्डी लागि परेको बताए । ‘त्रिवि शिक्षण अस्पतलामा पनि ४ देखी ६ लाखको हाराहारीमा प्रत्यारोपण हुन्छ , ग्राण्डीमा ५ लाख७५ हजार रुपैयाँको प्याकेज छ । त्यसैले रकम समेत उस्तै उस्तै हो,’ उनले भने ।

लामाको प्रत्यारोपणका लागि ज्ञवालीको टीममा डा. पवनराज चालिसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुइटेल, डा. सुरेन्द्र विक्रम अधिकारी, डा . उपेन्द्र जोशीको सहयोग रहेको अस्पतालले जनाएको छ ।अस्पतालले प्रत्यारोपण गर्न ३ घण्टा ३३ मिनेट समय लागेको डा. ज्ञवालीले बताए । 

प्रत्यारोपण अन्य सरकारी अस्पतालमा हप्ताको १ वा २ दिन हुने भएपनि ग्राण्डीले भने हप्ताको सातै दिन आफूकहाँ प्रत्यारोपण गर्ने क्षमता भएको दावी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *