चन्द्रनिघण्टु के हो ?

 डा. राजेन्द्रकुमार गिरी
डा. राजेन्द्रकुमार गिरी

नेपाली जनजीवनको अभिन्न अंगको रुपमा स्थापित आयुर्वेद चिकित्सा पद्धतिमा खास गरी स्थानीय रुपमा उपलव्ध प्राकृतिक साधन–स्रोतहरुको विवेकपूर्ण उपयोगद्वारा स्वस्थ्य संरक्षण, रोग प्रतिरोध एवं रोग निवारणको साथै सुस्वास्थ्य प्रवद्र्धनका उपायहरु समेत वर्णित छन् । यसमा मुख्यतः जडिबुटीहरु र केही मात्रामा प्राणी एवं खनिज द्रव्यहरुको चिकित्साका उपायहरु बताइएको छ ।

आयुर्वेदमा स्वस्थको स्वास्थ्य रक्षा एवं रोगीको रोगोपचारमा प्रयोग गरिने द्रव्यहरुको स्वरुप–परिचय,उपयोग, गुण–कर्म आदि विवेचना सहितको संग्रहयुक्त कोषलाई निघण्टु भनिन्छ ।

यस्ता निघण्टुहरु सम्बन्धित विशेषज्ञहरुद्वारा प्रत्यक्ष अवलोकन तथा लामो अनुभवको आधारमा निस्वार्थभावले तयार गरिएका प्राचीन अभिलेखहरु भएकोले यी महत्वपूर्ण ज्ञानका श्रोत हुन ।cover (1)

आयुर्वेद वाङ्मयका कतिपय अमूल्य निधिहरु अझै पनि अप्रकाशित नै र हेकाले राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ ले निर्दिष्ट गरे बमोजिम देशमा रहेका यस प्रकारका हस्तलिखित ग्रन्थहरुको समयानुकुल सम्पादन गरी प्रकाशन गराएर प्रचार प्रसारमा ल्याउनु आयुर्वेद क्षेत्रका लागि मात्र नभै सम्पूर्ण राष्ट्र र विश्वकै निम्ति उपयोगी कार्य हो ।

सिंहदरबार वैद्यखाना विकास समितिमा विभिन्न जडिबुटीका रंगीन चित्रहरु, तिनका विशेषता, कर्म र उपयोगीको वर्णन समेत भएको प्राचीन हस्तलिखित ग्रन्थ चन्द्रनिघण्टु हो ।राणा प्रधानमन्त्री चन्द्र शम्शेरका पालामा तयार पारिएको तथा उनकै नाम जोडेर नामाकरण गरिएको हुनाले यसलाई चन्द्र निघण्टु भनिएको हो ।

चित्रहरु बनाउने र लेख्ने कार्य कसले गरेको भन्ने स्पष्ट उल्लेख पाईदैन तापनि यसबाट नेपालमा उपलव्ध ८०० भन्दा बढी जडिबुटीहरु र झन्डै २०० खनिज एवं जान्तव द्रव्यहरुको परिचय तथा उपयोगिता सम्बन्धी जानकारी पाइन्छ ।

यो निघण्टु ग्रन्थ संस्कृत, नेपाली र नेवारी भाषामा, १० भागमा नेपाली कागजमा सुन्दर ढंगले लेखिएको छ । १९१८ पृष्ठको यस हस्तलिखित ग्रन्थका १० भागमा वर्णित द्रव्यहरुको संख्या र रंगीन चित्रहरुको संक्षिप्त विवरण तालिका यस प्रकार छ :

table

उपरोक्त वमोजिम ९९३ द्रव्यहरुमध्ये कतिपय द्रव्यहरुको १ भन्दा बढी जातिहरुको समेत वर्णन गरिएको छ । जम्मा १०८९ रंगीन चित्रहरुमध्ये ७३६ पृष्ठमा १–१ वटा चित्र मात्र छन् भने वाँकी ३५३ चित्रहरु १२६ पृष्ठमा कोरिएको छ ।

यसलाई तयार, गर्दा धन्वन्तरि निघण्टु, मदनपाल निघण्टु, भावप्रकाश निघण्टु, राज निघण्टु, कैयदेव निघण्टु तथा अमरकोष लाई मुख्य आधार मानिएको भन्ने कुरा ग्रन्थको अवलोकनबाट स्पष्ट हुन्छ ।

यस महत्वपूर्ण ऐतिहासिक ग्रन्थको वर्तमान परिप्रेक्ष्यमा उपलव्ध थप वैज्ञानिक र सान्दर्भिक ज्ञान समेत समावेश गरी स्पष्ट भाषामा ( नेपाली र अंग्रेजी) प्रकाशित गर्नु आवश्यक देखिएकोले चन्द्रनिघण्टु भाग १ र २ प्रकाशित भइसकेको छ । भाग ३ यसै आर्थिक बर्षमा प्रकाशन गरिदैछ । बिकास समितिले भाग १० सम्म प्रकाशन गर्ने लक्ष्य राखेको छ । चन्द्र निघण्टु प्रकाशन निम्न बिशेषता रहेको छ ।

१. कम्तिमा २ प्रति रंगिन फोटोकपि गरी मूल ग्रन्थलाई सुरक्षित राखीएको छ ।
२. ग्रन्थको विस्तृत एवं पूर्ण अध्ययन गरी सम्पादन एवं प्रकाशन गर्नको लागि सम्बन्धित विषयका विज्ञहरु संलग्न रहेको एक वैज्ञानिक सम्पादन मण्डल र एक सल्लाहकार मण्डल गठन गर्ने कार्य गरिएको छ ।
३. सन्दर्भ–ग्रन्थहरु (रिफरेन्स बुक्स र जर्नलहरु) र पुस्तकालयको सुविधा जुटाउनु पर्ने र केही थप पुस्तक तथा पत्रिकाहरुको व्यवस्था गरिएको छ ।
४. रंगीन चित्रसहित हस्तलिखित विवरण यथावत् छपाउने र अन्य थप विवेचना एवं सन्दर्भहरु–आवश्यकतानुसार संस्कृत, नेपाली र अंग्रेजी भाषामा) व्यवस्थित ढंगबाट कम्प्युटर टाइप गराई सम्पादन गरीएको छ ।
५. यो ग्रन्थ आयुर्वेद क्षेत्रको लागि मात्र नभै राष्ट्रकै महत्वपूर्ण निधि भएकोले अन्तर्राष्ट्रिय सन्दर्भ ग्रन्थका रुपमा प्रस्तुत हुने गरी स्तरीय कागजमा उच्च गुणस्तरको छपाई तथा वाइण्डिङ्ग गरिएको छ ।
६. यसको मूल्य प्रति भोलोमको संस्थागत रु २५०० र ब्यक्तिगत २००० बिदेशिको लागि प्रति भोलोमको ६० डलर मूल्य राखिएको छ ।

# डा. गिरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध–निर्देशक हुन्  ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *