फैलियो हङकङ फ्लुको सङ्क्रमण

hongkong flu

काठमाडौँ – मौसम परिवर्तनसँगै इन्फ्लुन्जा भाइरस हङकङ फ्लुको सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय उपत्यका सहित देशभरका अस्पतालहरुमा लगातार रुघाखोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुनेबाहेक ज्वरो आउने समस्या लिएर आउनेहरुको संख्या बृद्धि भएको छ ।

अघिल्ला वर्षमा फागुन–चैत महिनामा मात्र देखिने यो भाइरस यस वर्ष भने केही अघि नै सुरु भएको थियो । मङ्सिर पुस महिनाबाटै प्रकोप देखिएपछि समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढेको हो ।

खासगरी रुघाखोकी लाग्ने, शरीर दुख्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने समस्या लिएर चिकित्सक कहाँ पुग्ने बिरामी पनि बढेको टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर बताउछन् ।

उनले भने, “माथि उल्लिखित लक्षणबाहेक पनि रुघाखोकी र ज्वरोसँगै आएमा समस्या अझ जटिल हुने भएकाले रुघाखोकी लागेमा सामान्य हो भनेर लापरवाही गर्नै हुँदैन ।”

अहिले यही लक्षण भएका मानिसले लापरवाही गर्दा बिरामीको मृत्यु पनि भएको उनले बताए । मानिसको लापरवाहीका कारण यसको सङ्क्रमण अझ फैलिएकाले आफ्नो आचरणमा सुधार ल्याउनु आवश्यक भएको चिकित्सकको सल्लाह छ ।

डा. पुनका अनुसार इन्फ्लुन्जा ‘ए’ अन्तर्गतको हङकङ फ्लुको सङ्क्रमणले सबै उमेर समूहका मानिसलाई असर पारेको पाइएको छ ।

खासगरी वृद्धवृद्धा, बालबालिका, दीर्घरोगीमा बढी मात्रा सङ्क्रमण देखिने गरेको भए पनि यस वर्ष निरोगी मानिस, युवायुवतीलगायतका सबै उमेर समूहका मानिस सङ्क्रमणका कारण अस्पताल आइरहेको डा पुनको भनाइ छ ।

अहिले सरुवा रोग अस्पतालमा दैनिक २५ देखि ३० जना बिरामी आउने गरेका छन् । यो सङ्ख्या कहिलेकाहीँ निकै बढी हुने गरेको छ ।

कसरी बच्ने ?

हङकङ फ्लुको सङ्क्रमणबाट बच्नका लागि धेरै हुलमूलमा नजान, झोलिलो खाद्य पदार्थ सेवन गर्न, घरमा कसैलाई यो सङ्क्रमण भएको छ भने बिरामीसँग लसपस नगर्न तथा बिरामीले प्रयोग गरेका सामग्री अरुले प्रयोग नगर्न र बिरामीसँग करिब एक मिटरसम्मको दूरी कायम राखी कुराकानी गर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।

बाहिरबाट घर आएपछि अनिवार्यरुपमा साबुनपानीले हातगोडा धोएर मात्र अन्य सामान छुने गरेमा पनि केही हदसम्म सङ्क्रमणबाट बच्न सकिन्छ ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *