एक करोड १० लाख महिलाले गराए असुरक्षित गर्भपतन

Abortion

नेपाली हेल्थ/ काठमाडौँ – एसिया प्रशान्त क्षेत्रमा एक करोड १० लाख महिलाले असुरक्षित गर्भपतन गराएको पाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले सोमबार सार्वजनिक गरेको ‘युवा वर्गको यौन तथा प्रजनन स्वास्थ्य, वर्तमान कार्य र नीतिको एक विश्लेषण सन् २०१५’ विषयको प्रतिवेदनमा एक वर्षको अवधिमा यौन तथा प्रजनन क्षेत्रमा सो क्षेत्रको अवस्था एकदमै दयनीय रहेको देखाइएको छ ।

असुरक्षित यौन सम्बन्ध र जनचेतनाको अभावका कारण पनि महिला बढी नै प्रताडित भएको प्रतिवेदनमा भनिएको छ ।

कोषको प्रतिवेदनमा भनिएको छ, ‘३४ प्रतिशतभन्दा बढी महिलाले असुरक्षित तवरले गर्भपतन गराएको र त्यसमा २५ वर्षभन्दा कम उमेर समूहका महिलाको सङ्ख्या बढी रहेको छ । यस्तै ६६ प्रतिशत बढी महिलालाई त यौन तथा प्रजनन स्वास्थ्यका बारेमा समेत जानकारी नै छैन ।’

यस्तै पछिल्लो १२ महिनामा मात्रै पाँच लाख २० हजार युवामा एड्स तथा एचआइभी सङ्क्रमित रहेको पाइएको छ । यस्तै १५ देखि १९ वर्ष उमेर समूहका युवती यौन हिंसामा पर्ने गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।

नेपालसहित यस क्षेत्रमा ३६ मुलुकमा गरिएको अध्ययनमा कोषले अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण पनि यौन तथा प्रजनन स्वास्थ्यको अवस्था गम्भीर रहेको पाइएको उल्लेख गरेको छ ।

कोषका एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक योरिका यासकुकावाले विश्वव्यापीकरण र विकासका कारण मानव समाज क्रमशः परिवर्तन हुँदै गए पनि नीतिनियम र कानुनमा सार्थक परिवर्तन गर्नुपर्ने तथा युवा समूहलाई उचित चेतना र ज्ञान बाँड्नुपर्नेमा जोड दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *