पाचन प्रणालीका औषधि उत्पादन गर्दै देउराली जनता

djpl-1-1024x576

नेपाली हेल्थ /काठमाडौँ –  देउराली जनता फर्मास्यूटिकल्सले पाचन प्रणालीको औषधि उत्पादन गर्ने भएको छ । ‘दिव्यम’ डिभिजन मार्फत उत्पादन हुने औषधिका लागि सबै तयारी पुरा भएको कम्पनीले जनाएको छ ।

कम्पनी २५ बर्ष पुगेको अवसरमा मनाउन लागेको रजतमहोत्सव बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत हरिभक्त शर्माले ‘दिव्यम्’ डिभिजन थपिएको जानकारी दिए । रजत महोत्सव आगामी १६ माघमा मनाउदै छ ।

कार्यकारी निर्देशक शर्माले दिव्यम डिभिजनका लागि १० करोड रुपैयाँको लगानी हुन लागेको जानकारी दिदै ४५ जनाभन्दा बढीले रोजगारी पाउने बताए । यसअघि सो कम्पनीमा डिभिजन १ डिभिजन २ सुस्वास्थ्य डिभिजन आरोग्यम र निरोग डिभिजन थिए ।

यसैगरी इन्जेक्सन र इमर्जेन्सी सेवाका लागि आवश्यक औषधि उत्पादनका लागि भने ५० करोड रुपैयाँ लगानी गर्ने जानकारी दिए । सोको लागि छुट्टै युनिट खडा गरेर उत्पादन शुरु गरिने कम्पनीले जानकारी दिएको छ ।

देउराली जनताले अहिले पनि नेपाली बजारमा कुल खपत हुने औषधिको ५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिँदै आगामी दिनमा यसको दायरा फराकिलो बनाउन लागेको समेत उनले बताए ।

‘नेपाली औषधि कम्पनीहरुले नेपालका लागि आवश्यक औषधि स्वदेशमै उत्पादन गर्न सक्ने क्षमता बनाइसकेका छन् उनले भने, ‘तर, सरकारले यसलाई प्रवद्र्धन गर्नका लागि कुनै कदम चाल्न सकेन ।’ सरकारले औषधि उत्पादनका लागि जथाभावी लाइसेन्स दिएको भन्दै आगामी दिनमा यसलाई न्युनिकरण र अनुगमन गरिनुपर्ने उनले बताए ।

हाल कम्पनीले विभिन्न ५ डिभिजन मार्फत ३ सय प्रकारका औषधि उत्पादन गर्दै आएको छ । भारतीय नाकाबन्दीका कारण भएको इन्धन अभाव र बढ्दो लोडसेडिङका कारण उत्पादनमा गिरावट आएको समेत उनले जानकारी दिए । ‘अहिले उत्पादनका ५० प्रतिशतले गिरावट आएको छ भने बजार ३५ प्रतिशतले घटेको छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *