पूर्वी पाल्पामा एन्थ्रेक्स : मानिसमा सरेको छैन, एउटा वडामा मात्रै ३१ चौपायाँ मरे

नेपाली हेल्थ/काठमाडौँ – पूर्वीपाल्पाको गल्धा गाविस ७ गेझामा देखिएको एन्थ्रेक्स रोग कसैलाई नसरेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । अहिलेसम्म ७ नम्वर वडामा मात्रै सो रोगका कारण ३१ वटा पशु चौपाया मरिसकेको छ ।antresk

गल्धा स्वास्थ्य चौकीका अहेव गणेश गैरेले टेलिफोनमा कुरा गर्दैै पशुलाई लाग्ने पड्के भनिने एन्थ्रेक्स रोग मानिसमा देखा नपरेको बताए । उनले रोगको खतरा र अपनाउनुपर्ने सतर्कता बारे स्थानीयहरुलाई जानकारी भएकोले अहिलेसम्म रोगको संक्रमण मानिसमा नसरेको बताए ।

गल्धा ७ का स्थानीय एवं पूर्व गाविस अध्यक्ष दलबहादुर जर्घाले ६ महिना अघि देखिनै गाँउमा बधुवा तथा चरुवा गाई, गोरु, भैसी, पाडो मर्न थालेको र सो रोग पशुलाई लाग्ने पड्के रोग भएको आफूले थाह पाएको बताए । उनले मानिसमा पनि सर्न सक्ने भन्दै पहिल्यै जानकारी भएकोले गाँउलेहरु सतर्क रहेकोले कोही विरामी नपरेको बताए । उनले केही समय अघि नै जिल्ला पशुसेवा कार्यालयले सो रोग विरुद्ध सुई पशु चौपायालाई भ्याक्सिन दिएपनि नियन्त्रणमा नआएको बताए ।

आज फेरी पनि जिल्ला तथा पशुस्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली पनि भ्याक्सिन दिन आउदै हुनुहुन्छ भन्ने थाह पाएको छु जर्घाले भने । उनका अनुसार गाई भैसी र गोरु पाडाहरु हल्का जोरो आएजस्तो हुनेर ढलि हाल्ने र मरि हाल्ने गरेको बताए । उनले पशु स्वास्थ्यबाट आएका चिकित्सकले मरेका भैसीबाट रगत लिएर परीक्षण गर्दा पड्के भएको पुष्टि भएको बताए ।

यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले गत साउन भदौबाट भकाभक पशुचौपाया मरेको र परीक्षणका क्रममा एन्थ्रेक्सका जीवाणु भेटिएको आइतबार मात्रै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराएको थियो । सो जानकारी पाए लगत्तै महाशाखाले रोग मानिसमा सरे नसरेको जानकारी लिन केन्द्रबाट विशेष टोली सोमबार नै जिल्ला पठाउने भएको छ ।

एन्थ्रेक्स लागेका पशुको दुध घिउ मासु खाने तथा गोवर पिसाव तथा स्वयं पशुको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने सम्भावना रहेको डा. मरासिनीले बताउछन् । उनले गल्धामा मानिसमा सरे नसरेको जानकारी आइनसकेको भन्दै विशेष टोलीले अध्ययन पछि मात्रै भन्न सकिने बताएका थिए ।

डा. मरासिनीका अनुसार एन्थ्रेक्स रोग लागेपछि छाती, पेट र छालामा संक्रमण हुने भन्दै छाला बाहेक अन्य स्थानको संक्रमणले ज्यान नै जाने सम्भावना रहन्छ । छातीमा संक्रमण भए छाती इन्फेक्सनदेखि निमोनियासम्म हुन सक्ने, उच्च ज्वरो आउने, पेट भित्र भए रगत बान्ता, डाइरिया हुने र छालामा भए डरलाग्दो खटिरा देखिन्छ डा मरासिनीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *