सरकारले किन्नै सकेन पेटस्क्यान मेसिन !
पत्रिका – क्यान्सर रोगको उपचारमा महत्त्वपूर्ण मानिने पेटस्क्यान मेसिन खरिद गर्न सरकार असफल देखिएको छ । स्वास्थ्य मन्त्रालयले मेसिन खरिदका लागि पछिल्लो तीन वर्षयता लगातार बजेट छुट्याउने गरेको थियो । तर, अहिलेसम्म खरिद प्रक्रिया अघि बढाउन सकेको छैन ।
पछिल्लो तीन वर्षमा पेटस्क्यानका नाममा छुट्याएको बजेट एक अर्ब एक करोड पुगिसकेको छ, तर त्यो रकम फ्रिज वा रकमान्तर हुँदै आएको छ । ०७० असारको पहिलो साता पेटमा कालो दाग देखिएपछि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सरको आशंकामा थप उपचारका लागि जापान लगिएको थियो ।
जापानस्थित टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा पेटस्क्यान गरेपछि उनमा क्यान्सर नभएको पुष्टि भएको थियो । जापानबाट फर्केलगत्तै तत्कालीन राष्ट्रपति डा. यादवकै विशेष निर्देशनमा पेटस्क्यान खरिद गर्न सरकार अघि सरेको थियो । सोहीअनुसार पहिलो वर्ष अर्थात् आर्थिक वर्ष ०७०/७१ मा १६ करोड रुपैया, आव ०७१/७२ मा ४५ करोड र चालू आव ०७२/७३ मा पुन: ४० करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्ला दुई आवका बजेट खर्च खरिद प्रक्रियामै जान सकेन भने चालू आवमा पनि मेसिन खरिद हुन नसक्ने निश्चितजस्तै देखिएको छ ।
क्यान्सरका बिरामीका लागि अत्यावश्यक हुने पेटस्क्यान मेसिन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा राख्ने सरकारले निर्णय गरेको थियो । तर, अहिलेसम्म सो अस्पतालले पनि प्रक्रिया अघि बढाउन सकेको छैन । ‘पहिलो वर्ष १६ करोड आएको थियो, हामी पेटस्क्यान मेसिनबारे अध्ययनमा लाग्यौँ, खरिद गर्ने प्रक्रिया सुरु गर्नै भ्याइएन,’ भरतपुर अस्पतालका निर्देशक डा. चिनबहादुर पुनले भने, ‘गत वर्ष ४५ करोड रकम आएको थियो, ग्लोबल टेन्डर आह्वान गर्यौँ, तर कुनै कम्पनीका लागि मिल्ने गरी स्पेसिफिकेसन गरिएको भन्दै विवाद भयो, अख्तियारमा मुद्दा पर्यो, स्वास्थ्य मन्त्रालयबाट समेत प्रक्रिया रोक्न निर्देशन दियो । त्यसपछि त्यत्तिकै भयो । अहिले पनि ४० करोड रकम छुट्याएको छ, खरिद प्रक्रिया अघि बढेको छैन ।’
स्वास्थ्य मन्त्रालयले भने खरिद प्रक्रिया अघि बढाउन नसक्नु अस्पताल व्यवस्थापनको कमजोरी भएको जनाएको छ । मन्त्रालयका सहसचिव डा. गुणराज लोहनीले जिम्मेवारी पाएको निकायले बहानाबाजी गरेर खरिद प्रक्रिया अड्काउन नहुने बताए । ‘नियमसंगत रूपमा खरिद प्रक्रिया अघि बढाए मन्त्रालयले हस्तक्षेप गर्ने कुरै हुँदैन,’ उनले भने ।
स्रोतका अनुसार गत वर्ष अस्पताल व्यवस्थापन समितिले निश्चित कम्पनीको मेसिन खरिद गर्ने निर्णय गर्दै ग्लोबल टेन्डर आह्वान गरेपछि विवाद उठेको हो । ‘ग्लोबल टेन्डर भन्ने, तर निश्चित कम्पनीको मेसिन किन्ने भन्दै स्पेसिफिकेसन तयार गरी निर्णय गराउने काम भयो । यस्तो हो भने किन टेन्डर आह्वान गर्नुपथ्र्यो र ? त्यसैले विरोध भएर काम रोकिएको हो,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो ।
पेटस्क्यान मेसिन भरतपुरमा राखे पनि आइसोटोभ उत्पादन गर्ने साइक्लोट्रोन मेसिन काठमाडौंमै राख्नुपर्ने विज्ञहरूले सुझाब दिएका थिए । उत्पादन गरेको चार घन्टाभित्रै प्रयोगमा ल्याउनुपर्ने आइसोटोभ उत्पादन गर्ने साइक्लोट्रोन मेसिन काठमाडौंमा राखे उपत्यकासहित विराटनगर, चितवन, बुटवल, नेपालगन्ज, पोखरा, धनगढीसम्मका अस्पतालमा पुर्याउन सजिलो हुने उनीहरूको सुझाब छ । पेटस्क्यानका लागि पेटसिटीसहित आइसोटोभ उत्पादन गर्ने साइक्लोट्रोन मेसिन र बंकर बनाउनुपर्छ । ती सबैका लागि करिब ६० करोड बढी खर्च लाग्ने बताइएको छ ।
नेपालबाट करिब दैनिक २० जनाभन्दा बढी क्यान्सरका बिरामी पेटस्क्यान गराउन भारत जाने गरेको अनुमान छ । भारतमा एकपटक पेटस्क्यान गराउँदा कम्तीमा ३० हजार भारु लाग्ने चिकित्सकहरू बताउँछन् ।
- आजको नयाँ पत्रिका दैनिकमा रामप्रसाद न्यौपानले लेखेको समाचार