चितवन मेडिकल कलेजले ल्यायो ‘टेष्टट्युब बेबी’ गर्भाधान सेवा

चितवन २४ चैत । चितवनमा पहिलो पटक इन भिट्रो फर्टिलाइजेसन ‍ (आईभीएफ) अर्थात् टेस्ट टयुब बेबी गर्भाधान प्रक्रिया सुरु भएको छ ।चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले आईभीएफ प्रविधिबाट कृत्रिम गर्भाधान प्रक्रिया टेस्ट टयुब बेबी सुरु गरेको हो।

कलेजले आइतबार विश्व स्वास्थ्य दिवसको अवसरमा चितवन मेडिकल फर्टिलिटी सेन्टर स्थापना गर्दै टेस्ट टयुब बेबी गर्भाधान प्रक्रिया सुरु गरेको हो ।

अस्पतालले अत्याधुनिक प्रजनन् संरक्षण सेवा सहितको टेस्ट टयुब बेबी सेन्टरको स्थापना गरेको अस्पतालका प्रवन्ध निर्देशक डा हरिषचन्द्र न्यौपानेले बताए।

सो सेन्टरको उद्घाटन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री यादवले सरकारले समेत नयाँनयाँ उपचार सेवा दिने लक्ष्य राखेको अवस्थामा चितवन मेडिकल कलेजले सुरु गरेको यो पहल आम जनताको लागि लाभदायक हुने विश्वास व्यक्त गरे। यस्तो सेवालाई सर्वसुलभ, विश्वसनीय र गुणस्तरीयमा ध्यान दिन समेत मन्त्री यादवले आग्रह गरेका थिए।

कलेजका अस्पताल निर्देशक प्राडा दयाराम लम्सालले लगानी, प्राविधि र जनशक्तिको हिसाबले कठिन भए पनि सरकारको नीति तथा कार्यक्रमभित्र रहेर यो सेवा सुरु गरिएको जानकारी दिए।

चितवन मेडिकल कलेजका प्रसूति तथा स्त्री रोग विभाग प्रमुख डा उपेन्द्र पण्डितको अगुवाइमा यो सेवा सुरु भएको हो। एक हप्ताभित्र चितवनमा टेस्ट ट्युब बेबीबाट गर्भाधान प्रक्रिया सुरु गर्ने डा पण्डितले बताए। उनका अनुसार चितवन मेडिकल कलेजमा दैनिक २ देखि ३ जना दम्पति निस्सन्तानको समस्या लिएर आउने गरेका छन्।

उनका अनुसार फर्टिलिटी सेन्टर स्थापनासँगै सन्तान नभएका तर सन्तानको रहर भएका दम्पतिले विदेशमा गई उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।

३ करोडको लगानीमा बनेको यो सेन्टर भित्र छुट्टाछुट्टै ल्याब, अपरेसन कक्ष, विर्य संकलन, चेकजाँच, ड्रेस चेन्ज, परामर्श कक्ष तथा विश्राम कक्षहरुको व्यवस्था गरिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *