‘उपचारका अरु प्रविधि आयात गर्ने नेपालले आँखा उपचार सेवा निर्यात गर्छ !’

काठमाडौँ, ९ चैत । हरेक जसो रोगको उपचारका प्रविधि विदेशबाट भित्र्याउने नेपालले आँखा उपचारको प्रविधि विदेश निर्यात गर्दछ भन्ने कमैलाई थाह हुनसक्छ । तर बास्तविकता यहि हो । नेपालका नेत्र विशेषज्ञहरु आँखा उपचारका नविनतम प्रविधि सहित विश्वका विभिन्न देशमा तालिम दिन जाने गरेका छन् ।

शनिबार विश्व दृष्टि विशेषज्ञ दिवसको अवसरमा नेपाल ओप्टोमेट्री एसोसिएशन र नेपाल ओप्टोमेट्री स्टुडेन्ट सोसाइटीद्धारा आयोजित कार्यक्रममा यससंग सरोकारवालाले नेपालले आँखा क्षेत्रमा गरेको प्रगतिको खुलेर प्रशंसा गरे ।

सोही कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले नेपालको स्वास्थ्य क्षेत्रमा आँखा सेवाले लिएको फड्कोको बारेमा खुलेर चर्चा गरेका थिए । उनले आँखा उपचारका लागि सरकारको आफ्नै लगानीका पूर्ण स्वामित्वको अस्पताल नभईराखेको अवस्थामा नेपाल आँखा उपचारमा पूर्ण रुपमा निर्भर हुनु र विदेशमा समेत सहयोग गर्न सक्नु आफैमा ठूलो सफलता भएको बताए । उनले नेत्र विशेष, दृष्टि विशेषज्ञ तथा नेत्र सहायकहरुको मद्धतले नेपाललले टक्रोमा रोग उन्मुलन गरेको समेत बताए ।

नेपाल ओप्टोमेट्री एसोसिएशनका अध्यक्ष निरजदेव जोशीले आँखा उपचारको क्षेत्रमा दृष्टि विशेषज्ञहरुको भुमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै सरकारले त्यसको महत्व नबुझेको बताए । उनले स साना स्कुले नानीहरु देखि बृद्ध उमेरका व्यक्तिहरुको दृष्टि परीक्षण गर्ने र उपचार गर्ने मात्रै नभई आँखा स्वास्थयको क्षेत्रमा समेत जनचेतना फैलाउने काममा आफूहरु लागिरहेको भन्दै राज्यको तर्फबाट आवश्यक समन्वय नभएको दुखेसो गरे ।

एसोसिएशनका कोषाध्यक्ष जुनु श्रेष्ठले नेपालमा २० बर्ष अघि देखि नै दृष्टी विशेषज्ञहरुको उत्पादन शुरु भईसकेको भएपनि त्यसको विकास विस्तार हुन नसकेको बताइन । उनले भनिन्, नेपालमा अहिलेसम्म ७०० दृष्टि विशेषज्ञ छन् । ती मध्ये नेपालमै अध्ययन गरेकाहरुको संख्या अहिले १०० मात्रै होला । बाँकी बाहिर अध्ययन गरेर आएकाहरु हुनुहुन्छ ।

नेपाल ओप्टोमेट्री स्टुडेन्ट सोसाइटीका अध्यक्ष कपिल गौतमले सरकारले दृष्टि विशेषज्ञहरुको महत्वलाई ध्यानमा राखी दरबन्दी, अवसर र अरु सुविधाका लागि पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै स्वतन्त्र विद्यार्थी युनियन महाराजगञ्ज मेडिकल क्याम्पसका सभापति डा मिलन गैरेले दृष्टि विशेषज्ञहरुको भूमिकाको चर्चा गर्दै उपचार सेवामा त्यसको प्रभाव देखिएको बताए । उनले दृष्टि विशेषज्ञ, नेत्र विशेषज्ञ आदिको संयोजनबाटै नेपालको आँखा उपचारले विश्वको ध्यानाकर्षण गराउन सकेको भन्दै प्रशंसा गरे ।

यसअघि आँखा सेवाका लागि दृष्टि विशेष भन्ने नाराका साथ विशेषज्ञहरुले रयालीको आयोजना गरेका थिए । र्याली त्रिवि शिक्षण अस्पतालबाट चक्रपथ, बसुन्धरा, कान्ति अस्पताल हुँदै पुन त्रिवि शिक्षण अस्पतालमा आएर समापन भएको थियो ।

उक्त र्यालीमा ओप्टोमेट्री अध्यन्नरत बिद्यार्थी , शिक्षक तथा दृस्टी बिशेषज्ञ र आँखा स्वास्थ्य संग सम्बन्धित व्यक्तिहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *