५१ जनाले पाए कृत्रिम खुट्टा, थप ५ सय जनालाई दिइदै

काठमाडौँ, ३० पुस । विभिन्न घटनामा खुट्टा गुमाएका ५१ जनाले आज कृत्रिम खुट्ट पाएका छन् । भारतको भगवान महावीर अपाङ्गता सहायता समितिले आइतबार काठमाडौँमा उनीहरुलाई कृत्रिम खुट्टा प्रत्यारोपण गरेको हो ।

चौधरी फाउण्डेसन र नर्भिक अस्पतालसँगको सहकार्यमा समितिले आयोजना गरेको कृत्रिम खुट्टा प्रत्यारोपण शिविरमा उनीहरुले कृत्रिम खुट्टा पाएका हुन् । शिविरमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले छ वर्षकी बालिका रियाकुमारी कुशवाहलाई खुट्टा लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए । मन्त्री यादवले नेपालमा कृत्रिम खुट्टा राख्ने स्थायी संरचना नभएको भन्दै कसैले संस्था स्थापना गरेमा सरकारले सहयोग गर्ने वचन दिए ।

मन्त्री यादवले खुट्टाको अभावमा चल्न नसक्ने मानिसलाई कुद्न सक्ने बनाउनु सबैभन्दा ठूलो मानव सेवा गरेकामा प्रशंसा गर्दै नेपालमा दुर्घटना धेरै हुने हुँदा अपाङ्गता भएकाको सङ्ख्या अधिक रहेको बताए ।

भारतसँगै नेपालले धेरै विषयमा सम्झौता गरे पनि स्वास्थ्य क्षेत्रमा सम्झौता हुन नसकेको भन्दै मन्त्री यादवले दुखेसो गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले पहिलो शिविरमै ५१ जनाको खुट्टा राखेकामा खुशी व्यक्ति गर्दै भने, “उनीहरुका लागि यो आर्थिक इन्जेक्सन हो ।” उनले कृत्रिम खुट्टा प्रत्यारोपणका लागि नेपालमा स्थायी केन्द्र आवश्यक रहेको औँल्याए ।

भगवान् महावीर अपाङ्गता सहायता समितिका निर्देशक सतिश मेहताले संस्थामार्फत वर्षमा ८० हजारको कृत्रिम खुट्टा प्रत्यारोपण गर्ने गरेको जानकारी दिँदै संस्थाले हाल विभिन्न ३० देशमा काम गरिरहेको बताए । दक्षिण एशियामै पहिलो शिविर नेपालमा भएको जानकारी दिँदै उनले नेपालमा खुट्टा नभएका सबैलाई तीन वर्षभित्रमा खुट्टा उपलब्ध गराउने प्रतिबद्धता जनाए । संस्थाले अहिलेसम्म १७ लाख बढीको कृत्रिम खुट्टा प्रत्यारोपण गरिसकेको सो क्रममा जानकारी दिइएको थियो ।

फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले नवलपुरमा ५०० जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गर्ने तयारी भएको जानकारी दिँदै गैँडाकोटमा रहेको सहज सामुदायिक अस्पताललाई यसको स्थायी केन्द्र बनाउने योजना रहेको उल्लेख गरे । उनले नेपालमा एक लाखभन्दा बढीलाई कृत्रिम खुट्टा आवश्यक रहेको दाबी गर्दै समाजसँगको सहकार्य जारी राख्ने बताए । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले कृत्रिम खुट्टा प्रत्यारोपण शिविरबाट धेरै सर्वसाधारण लाभान्वित भएकामा खुशी व्यक्त गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *