२२ बर्षकी कमलाले जन्माइन तिम्ल्याहा, आर्थिक अभावले उपचारमा समस्या

म्याग्दी, ११ मंसिर ।  धवलागिरी गाउँपालिका ७ हिलापोखरीका एक युवतीले जन्माएका तिम्ल्याह बच्चाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । २२ वर्षीया कमला परियारले शल्यक्रिया मार्फत सोमबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् ।

कमलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उनका श्रीमान् राजु परियारले बताए । कमलाले जन्माएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा छोरीको तौल ८०० ग्राम रहेको छ ।

राजुका भाई जयन्द्रका अनुसार एक जना बच्चाको उपचारका लागि कम्तीमा ३५ हजार रुपैयाँ आवश्यक परेको छ ।

आठ वर्षको हुँदा बुवालाई गुमाएका राजुकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो बिवाह गरेर गएकी थिइन् । वडा सदस्य नरकुमारी गुरुङले राजुलाई कक्षा १२ सम्म पढाएकी हुन् । तीन वर्षअघि कमलासँग बिवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारीक अवस्था कमजोर रहेको स्थानीय भोलानाथ पौडेलले बताए ।

तिम्ल्याहा बच्चाको उपचारका लागि टोल सुधार समितिले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी करीब रु ६० हजार जुटाएको समितिका अध्यक्ष रामजी मल्लले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *