सुनसरीमा सर्पदंशका बिरामीको सङ्ख्या बढदै


इनरुवा, १७ भदौ । जिल्ला अस्पताल इनरुवा सुनसरीमा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा चालु आवको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा बिना शाक्यले जानकारी दिइन्।

अस्पतालमा स्नेक बाइट पोजेटिभ १६ जनाको सङ्ख्यामा आएकामा १४ को सफल उपचार भएको र दुईको मृत्यु भएको अस्पतालले जनाएको छ । दुई बिरामी समयमा नआएकाले मृत्यु भएको जिल्ला अस्पताल इमर्जेन्सी कक्षका इन्चार्ज गुणानन्द झाले जानकारी दिए ।

त्यसैगरी अस्पतालमा ५९ स्नेक बाइट नेगेटिभ आएको अस्पतालले जनाएको छ । नेगेटिभ आएका बिरामीको सफल उपचार भएको अस्पतालले जनाएको छ । मौसममा आएको परिवर्तन, वर्षालगायतका कारणले सर्पको बिगबिगी बढेकाले सर्पदंशका बिरामी अस्पतालमा बढेको इन्चार्ज झाले बताए ।

अस्पतालमा सुनसरी जिल्लाका विभिन्न ग्रामीण क्षेत्रबाट बिरामी आउनुका साथै भारतबाट समेत सर्पदंशका बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ । एक महिनाको अवधिमा भारतबाट तीन सर्पदंशको बिरामी अस्पतालमा आएको इन्चार्ज झाले बताए। अस्पतालमा सर्पदंशको बिरामीलाई प्रयोग गर्ने औषधिसमेत पर्याप्त मात्रामा अहिले रहेको अस्पतालका मेसु डा शाक्यले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *