करारका कर्मचारीको बारेमा अध्ययन गर्न बनेको समिति नै निस्कृय, कर्मचारी अन्योलमा

काठमाडौँ, २५ साउन । स्वास्थ्य सेवा विभाग अन्तरगर्तका विभिन्न महाशाखामा कार्यरत करारका कर्मचारीहरुको व्यवस्थापन गर्न गठित समिति निस्कृय भएको छ । समिति निस्कृय हुँदा विभाग अन्तरगर्तका विभिन्न महाशाखामा कार्यरत करीब छ दर्जन करारका कर्मचारी अन्योलमा परेका छन् ।

विभागले करारका कर्मचारीको अवस्था आवश्यकताका बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउन तीन साता अघि तत्कालिन उपमहानिर्देशक डा विवेक कुमार लालको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सो समितिमा विभागका लेखाप्रमुख मधुसुदन पोखरेल र प्रशासन तर्फका उपसचिव टेकराज अर्याल सदस्य थिए ।

तर कार्यदल गठन गरे लगत्तै संयोजक बनेका लाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा भएको र उपसचिव अर्याल विभागबाटै सरुवा भएपछि सो समिति निस्कृय भएको हो ।

‘करार कर्मचारीको समस्या तथा तिनीहरुको व्यवस्थापन गर्न म उपमहानिर्देशक छँदा एउटा समिति बनेको थियो । तर त्यस लगत्तै मेरो र एक जना सदस्यको सरुवा भयो । त्यसपछि समितिको बैठक बस्ने कुरै भएन । अहिले त्यो समिति पनि अन्योलको अवस्थामा छ,’ डा विवेकले भने ।

विभागका महानिर्देशक डा गुणराज लोहनीले भने आवश्यकता परेको स्थानमा राख्न सकिने र आवश्यकता नपरेको स्थानमा करारका कर्मचारीहरु स्वतह विदा हुने बताए । उनले अहिले संरचना समेत बदलिएको र केन्द्रमा भन्दा प्रदेश तथा स्थानीय तहमा कर्मचारीको आवश्यकता भएकोले त्यसतर्फ बढी केन्द्रीत रहेको बताए ।

विभागले स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीहरु करारमा लिन स्थानीय गाँउ तथा नगरपालिकाहरुलाई निर्देशन दिइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *