चिकित्सक संघ भन्छ, ‘अब यत्तिकै आन्दोलन रोकिदैन’

काठमाडौँ, ५ असोज । नेपाल चिकित्सक संघले आफूहरुको पूर्वघोषित आन्दोलनका कार्यक्रम यथावत रहेको जनाएको छ ।

आफ्ना मागका सम्वन्धमा मन्त्रिपरिषदबाट कुनै जवाफ नआएको भन्दै आन्दोलनका कार्यक्रम यथावत रहेको जनाएको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकले उपचारका क्रममा लापरवाही भई बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति सम्वन्धित चिकित्सकबाटै असुल्ने कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

त्यसको विरोधमा संघले भोलिबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने गरी आन्दोलन गर्ने निर्णय गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीले मन्त्रिपरिषदबाट कुनै जानकारी नआएकोले आन्दोलनका कार्यक्रम यथावत रहेको बताए । यद्धपी स्वास्थ्य मन्त्रालयमा सरकारी टोली र आन्दोलनरत चिकित्सकहरु अहिले(साढे ९ बजे राती ) सम्म पनि बार्तामै छन् ।

‘हामी अहिले पनि बार्तामै छौँ तर मन्त्रिपरिषदले कुनै स्पष्ट पारेन ।त्यसैले आन्दोलनका कार्यक्रम यथावत नै छ,’ महासचिव कार्कीले भने ।

यता स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले क्षतिपूर्ति तिर्नुपर्ने भन्ने कानून बनाउन भनिएको भन्ने कुरा सत्यता नभएको भन्दै चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । महासचिव डा कार्कीले भने, ‘यदि त्यस्तो होइन भने सरकारका प्रवक्ताले नै बोल्नुपर्छ । मन्त्रिपरिषदबाटै जानकारी आउनुपर्छ ।’

स्वास्थ्य मन्त्री पोखरेलको निर्देशनमा स्वास्थ्य सचिव डा. किरण रेग्मीले आन्दोलनरत चिकित्सकलाई बोलाई बार्ता गरिरहेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *