यसकारण हुन्छन् कर्णालीका बालबालिका कुपोषणको शिकार

फाइल तस्बिर

रुपेन्द्र ऐरी – कालीकोट, २८ भदौ । कुपोषण लागेका बालबालिकालाई देउता लागेको ठानेर उपचार गर्न नमान्दा कर्णालीमा समस्या परेको छ । कतिपय अभिभावकहरुले कुपोषणबाट ग्रस्त बालबालिकालाई स्वास्थ्य संस्थामा लैजानुको सट्टा लामाधामीको लैजादा समस्या परेको हो ।

केही दिन अघि मात्रै तत्कालिन चिल्खाया गाविस हाल तिलागुफा नगरपालिका–११ का गोगन विकलाई कुपोषित आफ्नो छोराको उपचार गर्न जिल्ला अस्पताल पठाउन स्थानीय स्वास्थ्यकर्मीलाई हम्मे हम्मे परयो ।

चार बर्षीय छोरा नरेन्द्र विकलाई कुपोषण भएको लागेको खबर पाएर घर पुगेका स्थानीय स्वास्थ्यकर्मीलाई पदमले देउता लागेको भन्दै छोराको उपचार अस्पतालमा नहुने बताएका थिए । यद्धपी स्वास्थ्यकर्मीले अनेक प्रयास गरी उनलाई छोराको उपचारका लागि जिल्ला अस्पतालसम्म पुरयाए ।

गतवर्ष जिल्लाको साविकको सिपखाना गाविस, हाल रास्कोट नगरपालिका–१ निवासी सुशीला योगीको उच्च कुपोषणका कारण उपचार गर्दागर्दै मृत्यु भएको थियो । त्यसको केही महिना पछि सिपखाना–२ अर्थात रास्कोट नगरपालिका—१ निवासी तीनमहिने बालिका सम्झना रावत कुपोषणबाट ग्रस्थ बनेकी थिइन ।

चिल्खाया स्वास्थ्य चौकीका अहेव दुर्गाप्रसाद आचार्यले नरेन्द्र विकको तौल पाँच किलो २०० ग्राम रहेको बताए । अहेव आचार्यले गाविसमा थुप्रै बिरामी कुपोषणका भए पनि त्यसको समाधानमा कोही नलागेको बताए । ‘अधिकांशमा परम्परागत धारणा छ । यसले समस्या पार्छ गोगन जस्तै अरु अभिभावक पनि कुपोषणलाई देउतासंग जोडेर लामाधामी गरि बस्छन्,’ आचार्यले भने ।

प्रहरी बोलाउँछौ भनेपछि उपचार गर्न राजी

स्थानीय स्वास्थ्यकर्मीसंग आफ्नो छोरालाई देउता लागेको भन्दै अस्पताल लैजान अटेरी गरेका गोगन विकले प्रहरी बोलाउने बताएपछि मानेका थिए । स्थानीय स्वास्थ्यकर्मीसंग जिद्धि गर्दै बसेका गोगनलाई सम्झाउन नसकेपछि उनीहरुले प्रहरी बोलाइदिने धम्की दिएका थिए । त्यसपछि मात्रै उनी छोरालाई लिएर अस्पताल जान राजी भएका थिए ।

जिल्ला अस्पताल, कालीकोटका पोषण अधिकृत कटक महतले कुपोषण भएका बच्चाहरु अस्पतालमा आएमा उपचारको जिम्मा जिल्ला अस्पतालले नै लिने बताए ।उनले जुनसुकै हालतमा भएपनि बच्चालाई उपचारका लागि जिल्लामा पठाउन अनुरोध गरेको बताए ।

कालिकोटमा ६३ प्रतिशत बालबालिका कुपोषित

कालीकोट जिल्लामा अहिले स्वास्थ्य तथा पोषणसम्बन्धी काम गर्दै आएका विभिन्न गैरसरकारी निकायले एक हजारभन्दा बढी अर्थात् ६३ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्याँक बाहिर ल्याएका छन् । सरकारी निकायुसहित विभिन्न गैससले पोषणसम्बन्धी
कार्यक्रम शुरु गरेपनि कुपोषण हुने बालबालिकाको संख्या कमि आएको छैन ।

कुपोषणबाट जोगाउन अहिले जिल्लामा मातृशिशु तथा बाल्यकालीन पोषण, बहुक्षेत्रीय पोषण योजना, शिघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम, किशोरीलाई आइरन चक्की वितरण तथा सुनौला हजार दिन कार्यक्रम सञ्चालनमा छ । त्यस्तै कृषि तथा खाद्य सुरक्षा आयोजनाका साथै सर्वोत्तम पिठोलगायतका कार्यक्रम कर्णाली अञ्चलका पाँचवटै जिल्लामा चलेको छ ।

जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा शीघ्र कडा कुपोषित बालबालिकाको उपचार जारी राखेको र जिल्लाका १० वटा क्षेत्रमा बहिरंग सेवा विस्तार गरी उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय, कालीकोटले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *