गेटा अस्पताल सञ्चालनको पहिलो दिन : १८ जना बिरामीले लिए ओपिडी सेवा

396
Shares

धनगढी, २ कात्तिक । हिजो देखि सेवा प्रारम्भ गरेको गेटामा अस्पतालमा पहिलो दिन १८ जना बिरामीले सेवा लिएका छन् । अस्पतालका चिकित्सक डा विप्लव सापकोटाका अनुसार बुधवार पहिलो दिन १८ जना बिरामीले ओपिडी पछि अन्य परीक्षण सेवा समेत लिएका छन् ।

डा. सापकोटाले ओपिडीमा आएका मध्ये ४ जनाको युएसजी, ५ जनाको प्रयोगशाला र ३ जनाको एक्सरे गरिएको बताए । हिजो पहिलो दिन अस्पतालमा अर्थोपेडिक, जनरल सर्जरी, स्त्री रोग, तथा फिजिसियनहरुले बिरामी जाँच गरेका थिए ।

हाल १०० बेडको सञ्चालन स्विकृति पाएको अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर ११० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई एक सय शय्या क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो।

संघीय सरकारले चालु आर्थिक वर्षमा कर्मचारीको तलब सुविधाका लागि तीन करोड ५० लाख र उपकरण खरिदका लागि ८० करोड बजेट विनियोजन गरेको छ।

गेटामा ओपिडी सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो। अहिले अस्पताल सञ्चालनमा ल्याउन अहिले गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका छन्।

गेटा अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ।

साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *