भक्तपुर क्यान्सर अस्पताल : सर्बोच्चबाट पुनर्वहाली भएका प्राडा. पौडेलको तीन महिनामै राजिनामा !

एघारौँ तहका प्राडा श्रेष्ठलाई किन निमित्त निर्देशक ?
3.4k
Shares

काठमाडौँ २६ असोज । भक्तपुर क्यान्सर अस्पतालमा चार वर्षका लागि कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने गरी २२ मंसिर २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गएर पत्र बुझेका प्राडा विष्णुदत्त पौडेललाई स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत १७ असारमा मन्त्रीस्तरीय निर्णय गर्दै पदमुक्त गरेका थिए ।

१८ मंसिर २०७७ को मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति पाएका उनले मन्त्रीस्तरीय निर्णयबाट आफूलाई पदमुक्त गर्ने मन्त्रीस्तरीय निर्णय गैरकानूनी भन्दै गत २२ असारमा सर्बोच्च अदालत गए, २७ असारमा सर्बोच्चले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । सर्बोच्चको आदेशपछि उनी पूर्ववत रुपमा जिम्मेवारीमा फर्केर काम सम्हाले ।

तर, शुक्रबार पुन: उनै मन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै प्राडा ऋषिकेश नारायण श्रेष्ठलाई निमित्त निर्देशकको जिम्मेवारी दिए । एघारौँ तहका प्राडा श्रेष्ठलाई निमित्त दिनुको पछाडी त्यहाँको निर्देशक पद रिक्त भएकोले हो ।

सर्बोच्चबाट तीन महिना अघि पुनर्वहाली भएका प्राडा पौडेलले दुई साता अघि राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृतिका लागि मन्त्रि परिषदमा पठाइएको थियो । तर मन्त्री परिषद्ले स्वास्थ्य मन्त्रीलाई नै स्विकृति गर्ने अधिकार दिएर पठायो ।

स्वास्थ्य मन्त्री बस्नेतका निजी सचिव मोहन निरौला मन्त्रिपरिषद्ले प्राडा पौडेलले पदबाट दिएको राजिनामा स्विकृति गर्ने अधिकार मन्त्री बस्नेतलाई दिएपछि शुक्रबार त्यसको कार्यान्वयन भएको बताउँछन् । उनले नयाँ निर्देशक नियुक्ति गर्ने अधिकार मन्त्रिपरिषद्लाई मात्रै भएकोले अहिलेलाई काम काज गर्नका लागि श्रेष्ठलाई निमित्त दिइएको बताए ।

अहिले श्रीलंकामा रहेका प्राडा पौडेलले सर्बोच्चको पुनर्वहाली पछि किन राजिनामा दिएको बताउँन चाहेनन् । उनले भने, ‘करीव दुई साता अघि राजिनामा दिएको थिएँ । म अहिले त श्रीलंकामा छु, राजिनामा स्वीकृत भयो कि भएन मलाई थाहा छैन ।’

पदवहालीको दिन ‘कर्मचारी सरुवा गर्ने कुरामा म बढो स्पष्ट छु, बर्षमा दुई पटक बाहेक सरुवा, परिवर्तन गर्नेवाला छैन, तपाईँहरु ढुक्क हुनुहोस्’ भनेका मन्त्री बस्नेतले त्यस यता सबैभन्दा बढी गरेको काम नै सरुवा र नियुक्ति सम्वन्धी देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *