किष्ट मेडिकल कलेजले गर्यो एकै व्यक्तिमा एकै पटक कलेजो र मिर्गौलाको प्रत्यारोपण

काठमाडौँ, २३ असोज । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरले एकै व्यक्तिको कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण गरेको छ। अस्पतालमा हिजो दिउसोबाट सुरु गरेको प्रत्यारोपण आज विहान सम्पन्न भएको हो ।
अस्पतालले दुबै काम सम्पन्न गर्न चिकित्सकहरुलाई १८ घण्टा बढी समय लागेको जनाएको छ । उसले यो शल्यक्रियालाई नेपालको इतिहासमै पहिलो पटक र दुर्लभ शल्यक्रिया भनेको छ ।
यो जटिल शल्यक्रियाका लागि किष्ट अस्पतालले ‘मल्टी-डिस्किप्लिनरी एप्रोच’ अन्तर्गत वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसीयू क्रिटिकल केयर विशेषज्ञ, ब्लड बैंक, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसलिस्ट फिजिसियन्स एन्ड सर्जन तथा नर्सिङका दक्ष प्राविधिकहरु गरी १०० जनाभन्दा बढी प्राविधिक जनशक्ति परिचालित गरेको थियो।
कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीया महिला हुन्। उनलाई आफ्नै ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए भने ३२ वर्षीया भाउजुले मिर्गौला दान गरेकी थिइन्।
उक्त शल्यक्रिया सम्पन्न गर्न भारतको अपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा निरभ गोयल, सिनियर ट्रान्सप्लान्ट सर्जन डा अरुणकुमार भेनुथुरिमिल्ली र चिफ ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा सञ्जीव अनेजाको सहभागिता रहेको थियो।
किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्य चिकित्सक प्राडा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त लिभर ट्रान्सप्लान्ट सर्जन डा एकानन्द सिंह, लिभर ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा वरुण श्रेष्ठ, मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा नारायण भुसाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिस्ट डा सन्तोष क्षेत्री र डा कश्यप दाहाल लगायत अन्य वरिष्ठ चिकित्सकहरुको सहभागिता रहेको अस्पतालले जनाएको छ।
अस्तालका लिभर ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंहले तीनवटा अप्रेसन थिएटर एकपटक प्रयोग गरी शल्यक्रिया गरिएको बताए । ‘दुईजना अंगदाता र एक जना ग्रहणकर्ताका गरी तीन जनालाई तीनवटा ओटि प्रयोग गरियो । पहिले हामीले कलेजो प्रत्यारोपण गर्यौँ, त्यसपछि मिर्गौला प्रत्यारोपण गर्यौँ,’ उनले भने ।
‘यो बिरामीमा हाइपर अक्जोलोरिया टाइप १ भन्ने रोग थियो । जसले कलेजोमा हुने एक प्रकारको इन्जाइमलाई ह्रास गर्दै लैजान्छ र कलेजोले काम गर्न छाड्छ । त्यसको असरले मिर्गौला लगायतका अंगहरु पनि फेल हुन जान्छ । त्यसैले हामीले पहिले कलेजो प्रत्यारोपण गरेर मिर्गौला प्रत्यारोपण गरेका हौँ,’ उनले भने ।
यो दुर्लभ रोगको पहिचान किष्ट अस्पतालमा नै भएको थियो।
यस्तो जटिल अवस्थाको बिरामीलाई प्रत्यारोपण गर्नुअघि विस्तृत स्वास्थ्य परीक्षण तथा शरीरमा कलेजोले पैदा गरिरहेको टक्सिक केमिकलको प्रभाव कम गरी शल्यक्रियाका लागि तयारी गर्न करिब ६ महिना लागेको अस्पतालले जनाएको छ।
किस्ट अस्पताल नेपालका प्राइभेट अस्पतालहरुमध्ये मानवका दुवै अंग कलेजो र मिर्गौला प्रत्यारोपण गर्ने एक मात्र मान्यताप्राप्त अस्पताल हो।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

