आज विश्व मानसिक स्वास्थ्य दिवस:

‘नेपालमा मानसिक स्वास्थ्य समस्या भएका १० मध्ये ८ जनाले उपचार पाएका छैनन्’

244
Shares

काठमाडौँ, २३ असोज । आज १० अक्टोबर । विश्व मानसिक स्वास्थ्य दिवस । विश्व स्वास्थ्य संगठनले यसवर्षको नारा ‘मानसिक स्वास्थ्य, सबैको अधिकार’ भन्ने तय गरेको छ । यहि नाराका साथ आज विश्वभर यो दिवस मनाईदै छ ।

यसरी हरेक वर्ष दिवस मनाउनुको पछाडी बढ्दो क्रममा रहेको मानसिक स्वास्थ्य समस्यालाई रोक्ने र न्युनिकरण गर्दै जानु हो । विश्व स्वास्थ्य संगठन नेपालका मानसिक रोग विशेषज्ञ डा केदार मरहठ्ठा नेपाल जस्तो देशमा बढ्दो बेरोजगारी, रोजगारीको सिलसिलामा विदेशिनु पर्ने अवस्था, व्यक्तिको अपेक्षा र परिस्थितिबीचको दुरी मानसिक स्वास्थ्य समस्या थपिनुका कारण भएको बताउँछन् ।

उनी भन्छन्, ‘देशमा बेरोजगार बढ्दो छ, रोजगारीका लागि परिवार छाडेर विदेशिनु परेको छ, विदेश गएर पनि अपेक्षा अनुसार काम पाएको छैन् । यसले पनि मानसिक स्वास्थ्य समस्या बढाई रहेको छ ।’

उनले विगत वर्षका तुलनामा मानसिक स्वास्थ्यका विषयमा केही काम भए पनि पर्याप्त हुन नसकेको बताए ।

त्यसो त नेपाल हेल्थ फेसिलिटी सर्भेका अनुसार नेपालमा मानसिक स्वास्थ्यसेवा पाउनु पर्ने १० मध्ये ८ जनाले सेवा पाएका छैनन् । सोही सर्भेले २५ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य समस्याको उपचार हुने व्यवस्था रहेको उल्लेख गरेको छ ।

यता नेपालको राष्ट्रिय स्वास्थ्य सर्भेक्षण २०७७ का अनुसार देशको कुल जनसंख्याको ४ प्रतिशत लगभग ११ लाख जनता र थप १३ देखि १७ बर्ष उमेरका ५.२ प्रतिशत किशोर किशोरीहरुले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् । यसको परिणामस्वरुप ६.५ प्रतिशत बयस्कहरुले तत्कालीन अवस्थामा आत्महत्यको सोच रहेको अनुभव गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य र लागू औषध दुव्र्यसन कारण विश्वमा प्रमुख रुपमा ५ मध्ये १ अपांग सहितको जीवन बाच्नु परेको छ । यो अवस्था नेपाल जस्तो न्युन आय भएको मुलुकमा अझ बढी भएको औल्याइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *