डेंगी प्रकोप नियन्त्रणका लागि पाल्पामा जनप्रतिनिधि र स्वास्थ्यकर्मीसंग छलफल

पाल्पा, २० असोज । डेंगीबाट यसबर्ष देशभरमा २० जनाको मृत्यु हुँदा त्यसमध्येको तीन जना पाल्पाबाट रिपोर्टिङ भएको केश हो । शुक्रबारसम्म जिल्लामा ४०१ जनामा डेंगी संक्रमण देखिएको थियो ।

जिल्लामा डेंगीको जोखिम बढ्दै जाँदा शुक्रबार तानसेनमा प्रमुख सरोकारवाला तथा जनप्रतिनिधिबीच डेंगी प्रकोप नियन्त्रण सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाको आयोजना तथा स्वास्थ्य कार्यालय पाल्पाको सहजीकरणमा भएको कार्यक्रममा डेंगी नियन्त्रणका उपाय र सरोकारवाला पक्षको दायितवबारे छलफल भएको थियो ।

दुई चरणमा सम्पन्न कार्यक्रममा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर बर्न डिजिज शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले डेंगीको अवस्था, जोखिम क्षेत्र, सचेत हुनुपर्ने विषयहरु, रोकथामका उपाय, अपनाउनुपर्ने साबधानीलगाएतका विषयका बारेमा बताएका थिए । उनले डेंगी फैलाउने लामखुट्टे र यसको फैलावट रोक्ने, लामखुट्टे बस्ने स्थानको खोजी र नष्ट गर्ने बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले सबै सचेत भएर योजना बनाएर काम गरे मात्र डेंगी रोग नियन्त्रणमा आउन सक्ने बताए । उनले यसबर्ष डेंगीबाट देशभरमा २० जनाको मृत्यु हुँदा पाल्पाबाट तीन जनाको रिपोर्टिङ भएको बताए । ‘पाल्पाका दुई जना र स्याङ्जा गल्याङको एक जनाको पाल्पामै उपचारका क्रममा मृत्यु भएको हो,’ उनले भने ।

इडीसीडीको टोलीले पहिलो चरणमा युनाईटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल, रामपुर अस्पताल सहितका ठूला अस्पताल र स्वास्थ्य संस्थाका चिकित्सक तथा प्रतिनिधिसंग उपचार र प्रोटोकलबारेमा छलफल गरेका थिए ।

यस्तै दोस्रो चरणमा स्थानीय जनप्रतिनिधि, पालिका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुख, जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालय, जिल्ला रेडक्रस, परिवार नियोजन संघ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा लगायतका संस्थाका प्रतिनिधिसंग डेंगी रोग रोकथाम र नियन्त्रणका बारेमा छलफल गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *