बागमतीका महिला स्वास्थ्य स्वयंसेविका र तिनका परिवारलाई नि:शुल्क स्वास्थ्य बीमा

काठमाडौँ, ७ असोज । बागमती प्रदेशका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र तिनका परिवारका सदस्यको अब निशुल्क स्वास्थ्य बीमा हुने भएको छ । संघीय सरकारको ५० प्रतिशत छुटपछिको बाँकी प्रिमियम प्रदेश सरकारले तिरिदिने भएपछि सतप्रतिशत निशुल्क हुने भएको हो ।
गत बिहिबार बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिक तथा सम्झौँता हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री उत्तम जोशीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सत प्रतिशत बीमा निशुल्क हुने गरी संघीय सरकारले दिएको ५० प्रतिशत छुटमा प्रदेश सरकारले समेत ५० प्रतिशत छुट थपिएको बताए ।
मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेलालले संघ र प्रदेशको सुविधा पछि अब महिला स्वास्थ्य स्वयं सेविका र तिनका अरु चार जनासहित कुल परिवारको पाँच सदस्यले प्रिमियम बापत तिर्नु पर्ने ३ हजार ५०० रुपैयाँ तिर्नु नपर्ने भएको बताए ।
उनले लोपुन्मुख समूह र अति सिमान्तकृत समूहका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम निशुल्क भएजस्तै महिला स्वास्थ्य स्वयंसेविकाका लागि स्वास्थ्य बीमा पूर्ण रुपमा निशुल्क भएको बताए ।
त्यसो त बागमती प्रदेशले आफ्ना जनतालाई क्यान्सर, मुटु लगायतका उपचारमा सहुलियत दिन विभिन्न अस्पतालसंग सम्झौँता गरी ५० हजार देखि करीव १ लाख १० हजार रुपैयाँसम्म छुट दिने योजना कार्यान्वयनमा ल्याएको छ ।
यस्तै रक्तसञ्चार सेवा केन्द्र (व्लड बैंक)संग सम्झौँता गर्दै प्रदेशबासीलाई निशुल्क रगत उपलव्ध गराउँदै आएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



