नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज

104
Shares

नवलपरासी, ३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।

साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो ।

आफ्नै गाउँघरमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् । सामान्य बिरामी हुँदा भरतपुरतिर जानुपर्ने बाध्यता हटेको मध्यबिन्दु नगरपालिका–७ की माया न्यौपानेले बताए ।

आफ्नै गाउँ नजिकै यसरी धेरै सेवा लिन पाउँदा खुसी लागेको छ’, उनले भने, ‘दिनरात जुन समयमा स्वास्थ्य समस्या परे पनि उपचार पाइन्छ भन्नेमा विश्वस्त भएका छौँ ।’ नगर अस्पताल व्यवस्थित हुँदा आफूहरूलाई सहज भएको उपचारका लागि अस्पताल आएका विष्णुप्रसाद खनालले बताएका छन् ।

अहिले त यहीँ भिडियो एक्सरे, रगत परीक्षणसहित आवश्यकताअनुसार भर्नासमेत गर्न थालिएको रहेछ, अहिले हामीलाई स्थानीय सरकार गाउँ–ठाउँमा आएको अनुभूति भएको छ’, उनले भने। पहिले उपचार गर्ने रकमले गाडी भाडामै खर्च गरेर जिल्ला बाहिर जाने स्थानीय आफ्नै नगरपालिकाभित्र उपचार पाउँदा खुसी भएका छन् ।

नगर अस्पतालबाट अहिले सर्पदंश, रेबिज, प्रयोगशाला, प्रसूतिलगायतका आकस्मिक सेवासहित १५ शय्याबाट अन्तरङ्ग सेवा सञ्चालन गरिएको मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताए ।

‘उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन भिडियो एक्सरे सेवालाई नियमित र विशेषज्ञसहितको स्वास्थ्य परीक्षणलगायतका सेवा दिँदै अझ व्यवस्थित बनाउन भवन निर्माणका काम चलिरहेको छ’, उनले भने ।

हाल अस्पतालमा डाक्टर दुई, नर्सिङ हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोग्राफर एक, ल्याब टेक्निसियन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी र नगर एम्बुलेन्ससहित एक जना चालक कार्यरत रहेको शाखा प्रमुख क्षेत्रीले बताए ।

नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढेको मध्यबिन्दु नगर अस्पतालका प्रमुख नन्दलाल रानामगरले बताएका छन् । उनका अनुसार अहिले दैनिक एक सय ५० देखि दुई सय जनासम्म ओपिडीमा सेवा लिन आउने गरेका छन् ।

‘नगर अस्पताल सञ्चालनमा आएपछि स्वास्थ्य बीमा गरेका नागरिक पनि सहजरूपमा उपचार लिन यहीँ आउने गरेका छन्’, उनले भने, ‘अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो प्रयास जारी छ ।’

मध्यबिन्दु नगरपालिका र आसपासका स्थानीयका लागि सहज स्वास्थ्य पहुँच स्थापना नगरपालिकाको प्राथमिकतामा रहेको नगरप्रमुख भीमलाल अधिकारीले बताएका छन् । निर्माणाधीन नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपश्चात थप सेवासमेत विस्तार हुने उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *