स्वास्थ्य कार्यालय पाल्पाद्धारा स्थानीय तहका उत्कृष्ट तीन स्वास्थ्य शाखा पुरस्कृत
प्रथम भयो पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा
पाल्पा २७ भदौ । स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका तीनवटा स्थानीय तहका स्वास्थ्य शाखालाई कामको मूल्यांकनका आधारमा पुरस्कृत गरेको छ । तानसेनमा मंगलबार आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठीमा कार्यप्रगति प्रस्तुत गरेका गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा एक वर्षको अवधिमा गरेका कामको मूल्यांकनका आधारमा ती स्वास्थ्य शाखालाई पुरस्कृत गरिएको हो ।
त्यसरी पुरस्कृत हुनेमा पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा पहिलो , निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा दोस्रो र रैनादेवी छहरा गाउँपालिका तेस्रो भएका छन् ।
पूर्वखोलामा मोहन ढकाल, निस्दीमा रेमबहादुर दिशा र रैनादेवी छहरामा जीवन राना स्वास्थ्य शाखा प्रमुख छन् ।
स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलले २५ वटा विभिन्न सूचक तयार गरेर यसैको मूल्यांकनको आधारमा पुरस्कृत गरिएको बताए ।
तीनवटै स्वास्थ्य संस्थाले ८२ प्रतिशत बढी नम्बर ल्याएका छन् ।
पुरस्कृतहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना र स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रानाले कुनै पनि वादको पछि नलागेर राजनीतिक रंगलाई एकातर्फ राखेर जनताको स्वास्थ्यको क्षेत्रमा काम गर्न सुझाव दिए ।
गोष्ठीमा कार्यालय प्रमुख डा गिरीले पाल्पा जिल्लाको स्वास्थ्य अवस्थाको सुधारका लागि यथार्थ योजना बनेको र आगामी दिनमा अझ सुधार भएको देख्न पाइने बताए । स्वास्थ्य सेवा सुधारका लागि गुणस्तरीय सेवा उपलब्ध हुनेगरी एकीकृत प्रसूति गृह सञ्चालन र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
गोष्ठीमा दस स्थानीय तहको प्रगति प्रस्तुति गरिएको थियो । जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यसंग सम्बन्धित संस्थाहरुको प्रस्तुति गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिए ।
पाल्पामा घरमा सुत्केरी हुने संख्या गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य घटेको, सरकारले बजेट रोक्का तथा कटौती गर्दासमेत ७० प्रतिशत आर्थिक र ९५ प्रतिशत भौतिक प्रगति भएको उनले बताए । स्थानीय तहसँग कोभिड – १९ रोगथाम, नियन्त्रण र व्यवस्थापनलगायत महामारी नियन्त्रणमा समन्वयकारी सहजकर्ताको भूमिका निभाएको उनले बताए ।
त्यसो त पाल्पा कोभिड विरुद्धको खोपको प्रगतिमा लुम्बिनी प्रदेशमै पहिलो रहेको छ भने पूर्ण खोप दिगोपना सुनिश्चितता समयमै सम्पन्न गरेको छ ।
तर, कोल्ड चेनमा समस्या, खोपकेन्द्र भवन नहुनु, बसाइ सराइले लक्ष्य प्राप्तिमा समस्या भएको, अझै पनि कुपोषित बालबालिका रहेको लगायतका समस्या रहेको तथ्यांक अधिकृत पोखरेलले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]