कांग्रेस नेता महेन्द्र यादवको उपचार राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा
काठमाडौँ, २० भदौ । बुधबार दिउसो भृकुटीमण्डपमा खुकुरी प्रहारमा परी घाईते भएका नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउको र गर्धनमा चोट लागेका उनको आइसीयूमा राखेर उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ ।
यद्धपी उनको टाउकोमा आन्तरिक चोट भने लागेको छैन । अहिले स्वास्थ्य अवस्था स्थिर रहेको समेत सेन्टरले जनाएको छ ।
ट्रमा सेन्टरका निर्देशक डा बद्रि रिजालले आज अपरान्ह जारी गरेको विज्ञप्तीमा यादवको टाउको र गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरा घाउँ भई रक्तश्राव भएको पाइएको तर सिटिस्क्यान गरी हेर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको उल्लेख छ । न्युरो सर्जन र अर्थोपेडिक सर्जनले शल्यक्रिया गरी रक्तश्राव रोकिएको समेत उल्लेख छ ।
आज दिउसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका नेता यादवलाई कार्यक्रम सकेर फर्कने क्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए । प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने व्यक्ति नुवाकोटका ४७ वर्षीय श्याम सापकोटा हो ।
उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको जनाएको छ ।
सम्पर्क इमेल : [email protected]