लोक सेवाको विज्ञापनमा सेवा प्रवेशको उमेर घटेको भन्दै चिकित्सक संघको विरोध
काठमाडौँ, ३ भदौ । प्रदेश लोक सेवा आयोगले चिकित्सकको सेवा प्रवेश उमेर हद घटाएको भन्दै नेपाल चिकित्सक संघले आपत्ती जनाएको छ । उसले उमेर हद स्वास्थ्य सेवा ऐन २०५३ मा तोकिए बमोजिम हुनु पर्ने माग गरेको छ ।
पछिल्लो समय प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ को दफा १८ मा उल्लेख विवरण अनुसार विज्ञापन खोलेको छ । जसमा पुरुषको उमेर ३५ वर्ष र महिलाको उमेर ४० वर्ष तोकिएको छ ।
तर उसले यस विधेयकमा स्वास्थ्य सेवामा प्रवेश गर्न ईच्छुक अधिकृत स्तरका स्वास्थ्यकर्मी तथा चिकित्सकको उमेर हद स्वास्थ्य सेवा ऐन२०५३ मा तोकिए बमोजिम अर्थात ४५ वर्ष सम्म कायम हुनु पर्ने प्रावधान भुलेको भनेको छ ।
संघका महासचिव डा सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तीमा नयाँ प्रावधानले स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गराएको तथा स्वास्थ्य सेवा ऐन २०५३ को भावना र मर्म विपरित साथै अवैज्ञानिक रुपमा उमेरको हद कायम गरिएको दावी गरिएको छ ।
उसले देशभरका लोक सेवा आयोग तथा स्थानीय तहलाई अविलम्ब पत्राचार गरी प्रकाशित विज्ञापनमा संशोधन गर्न तथा भावी दिनमा प्रकाशित गरिने पदपूर्ति सम्बन्धी विज्ञापनमा स्वास्थ्य सेवा ऐन बमोजिम नै उमेर हद कायम रहने व्यवस्था मिलाउन भनेको छ ।
आफूले बारम्बार नेपाल सरकार तथा सरोकारवाला निकायमा ध्यानाकर्षण गराउदा समेत उमेर हदलाई नसच्चाई हालै मधेश प्रदेशबाट समेत विज्ञापन प्रकाशित गरिनुले समग्र चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा समर्पित हुने चिकित्सकहरुलाई निरुत्साहित तुल्याएको समेत संघले ठहर गरेको छ ।
संघले यहि अनुसार अघि बढ्दै गए आफूहरु कडा कदम चाल्न बाध्य हुने समेत चेतावनी दिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



