एक लाख विद्यार्थीको दन्त परीक्षण गरिने

काठमाडौँ, ३२ साउन । काठमाडौँ उपत्यकाका स्कुल तथा कलेजमा अध्ययनरत १ लाख जना विद्यार्थीको मुख तथा दन्त परीक्षण गरिने भएको छ ।
‘गिभ अ स्माइल’ प्रोजेक्ट अन्तर्गत कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) को प्राविधिक सहयोगमा बीएम फाउण्डेसनले विद्यार्थीहरुको दन्त परीक्षण गर्ने भएको हो ।
एक वर्षे सो परियोजनामा फाउन्डेशनले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ र रोटरी क्लव अफ काठमाडौँ नर्थसंग सहकार्य गरेको छ ।
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ, केडीसीका प्रिन्सिपल डा रबिन्द्रमान श्रेष्ठ, रोटरीका अध्यक्ष सुवास घिमिरेले यो परियोजना अघि बढाउने सम्बन्धि सम्झौँता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौँता अनुसार अब काठमाडौँ, भक्तपुर र ललितपुरका स्कुल तथा कलेजका गरी १ लाख विद्यार्थीहरुको मुख तथा दन्त परीक्षण गरिनेछ ।
परीक्षणमा खटिने स्वास्थ्य प्राविधिक टोलीले विद्यार्थीहरुलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा प्रशिक्षण समेत दिने छन् । सो परियोजना १ भदौ (भोली) देखि नै सुरु हुने भनिएको छ ।
कार्यक्रमबारेको सम्झौँता पछि बोल्दै फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले रोटरीसंग मिलेर स्कुल कलेजका विद्यार्थीहरुको ओरल स्क्रिनिङ अभियान सञ्चालन गर्न पाउनु खुशीको कुरा भएको बताए । उनले १ लाख जनाको स्क्रिनिङ गर्ने योजना आफैमा महत्वकांक्षी भएपनि यसलाई सफल बनाएर छाड्ने बताए । उनले यो अभियानको उदेश्य मुख स्वास्थ्यबारे जनचेतना अभिबृद्धि गराउने र समस्या भएकाहरुको समयमै पहिचान गर्ने रहेको बताए ।
केडीसीका प्रिन्सिपल प्राडा रबिन्द्रमान श्रेष्ठले कलेजका दक्ष जनशक्ति र प्रविधिको सहयोगले अभियानलाई समयमै सम्पन्न गर्ने भन्दै परीक्षणको नतिजालाई अनुसन्धानात्मक रुपमा विश्लेषण गर्न सकिने समेत बताए । ‘कम्तिमा नयाँ पुस्ता, बालबालिका तथा किशोर किशोरीमा मुख स्वास्थ्यको अवस्था कस्तो रहेछ भन्ने थाहा हुने भयो ? समयमै थाहा हुँदा उपचारमा समेत सजिलो हुने भयो । यो सबैका लागि राम्रो कुरा हो,’ उनले भने ।
कार्यक्रममा कार्यक्रममा रोटरीक्लव अफ काठमाडौँ नर्थका अध्यक्ष सुवास घिमिरेले मुख स्वास्थ्य सम्वन्धी यो अभियानले नयाँ मानक स्थापित गर्ने भन्दै परियोजना अघि बढाउन हातेमालो गरेकोमा केडीसी तथा फाउन्डेशन प्रति आभार प्रकट गरे । उनले रोटरीले विद्यालयमा दृष्टी जाँच कार्यक्रमलाई पनि अघि बढाएको बताए ।
डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद धोजुले पहिलो पटक यति ठूलो अभियान सुरु गरेको भन्दै यसको निरन्तरताको लागि जोड दिए ।
कार्यक्रममा पूर्व डिस्ट्रिक गभर्नरहरु सञ्जय गिरी, डिजिई राजेन्द्र मान शेरचन लगायतले पनि बोलेका थिए । एजी भुवनकुमार श्रेष्ठले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का सचिव दिनेश मानन्धरले गरेका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



