गाउँपालिकाहरुलाई ३५ वटा नयाँ एम्बुलेन्स उपहार दिदै काठमाडौँ महानगर
काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा देशका विभिन्न गाउँपालिकाहरुलाई ३५ वटा एम्बुलेन्स सहयोग गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दा महानगरकी उपप्रमुख सुनिता डंगोलले सो जानकारी दिएकी हुन् ।
आगामी वर्षको बजेटमा स्वास्थ्यलाई छुट्याएको कुल ९२ करोड ६६ लाख ४४ हजार रकम मध्ये ७ करोड रुपैयाँ ३५ वटा एम्बुलेन्स खरीदका लागि विनियोजन गरिएको बताईन् । बजेट बक्तव्यमा ती एम्बुलेन्सहरु नेपालका विभिन्न गाउँपालिकाहरुका लागि मागको आधारमा खरीद उपलव्ध गराउने भनिएको छ ।
महानगरले यसअघि पनि यस्तो सहयोग गर्ने निर्णय गरेको थियो ।
गत जेठमा कालिकोटको तिलगुफा नगरपालिकाले एम्बुलेन्स खरीदका लागि काठमाडौँ महानगरपालिकासंग आर्थिक सहयोग माग गरेको थियो । सो प्रस्ताव आउँदा मेयर बालेन शाहले आर्थिक सहयोगको सट्टा एम्बुलेन्स नै खरीद गरेर पठाउने प्रस्ताव राखेका थिए । सो प्रस्तावलाई नगर सभाले पारित गरेको थियो ।
सम्पर्क इमेल : [email protected]