भक्तपुर नगरपालिकाको बजेट : स्वास्थ्य जति ख्वप अस्पतालमा केन्द्रीत
काठमाडौँ, १० असार । भक्तपुर नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिका चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरिन् ।
बजेटमा स्वास्थ्यको ६ बुदा रहेको छ । त्यसमध्ये चार बुँदामा ख्वप अस्पताल जोडिएको छ ।
उपप्रमुख जोशीले प्रस्तुत गरेको बजेटमा ख्वप अस्पताललाई सिटिस्क्यान खरीदका लागि ८ करोड रुपैयाँ, सोही अस्पतालको भौतिक पूर्वाधारका लागि थप तीन करोड रुपैयाँ, अक्सिजन प्लान्ट, क्यान्सर परीक्षण तथा उपचारमा सहुलियत लगाएतका बुँधाहरु रहेका छन् ।
हेर्नुहोस् भक्तपुर अस्पतालले आगामी आर्थिक वर्षका लागि छुट्याएको स्वास्थ्य तर्फको बजेट :
- यस नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउन आगामी आर्थिक वर्षमा सीटी स्क्यान खरिदको लागि ८ करोड रुपैया विनियोजन गरिएको छ ।
- अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि थप २ करोड रुपैयास-गै सञ्चालन खर्चका लागि थप ३ करोड रुपैयाको व्यवस्था गरिएको छ ।
- भनपा वडा नं. १० स्थित बैखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३० लाख र भनपा वा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरिएको छ ।
- ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट नगरवासीहरुलाई निःशुल्क तथा अन्यलाई न्यून शुल्कमा अक्सिजन उपलब्ध गराउनुका साथै विभिन्न रोगको उपचार र अपरेशनको लागि नगरवासीहरुलाई आवश्यक रगत निःशुल्क प्रदान गर्ने र क्यान्सर, मृगौला रोग, मुटु, मष्तिष्क र मेरुदण्डसम्बन्धी दीर्घरोग लागेका नगरवासी हरुलाई यस नगरपालिकाको तर्फबाट उपचार सहायता अनुदान प्रदान गर्दै आएकोलाई आगामी वर्ष पनि निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
- ख्वप अस्पताल लगायत अन्य विशिष्ट अस्पतालहरुको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर परीक्षण, दमखोकी, दाँत तथा नाक कान घाँटी, आँखा लगायतका रोगहरुको निःशुल्क स्वास्थ्य शिविरहरु समुदाय र विद्यालय तहमा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
- घरदैलो नर्सिङ सेवासगै विद्यालयहरुमा विद्यालय नर्सको व्यवस्थाको लागि आवश्यक प्रबन्ध गरिएको छ।
सम्पर्क इमेल : [email protected]