गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने

काठमाडौँ, २९ जेठ । सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने प्रतिबद्धता जनाएको छ ।।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा सांसद आलेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री प्रकाशशरण महतसँग सोमबार भेटघाट गरी कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न माग गरेको थियो।

यस सम्बन्धमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री डा महतसँगको छलफल भएको र सरकारले सो विश्वविद्यालाय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

मन्त्रिपरिषदबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको बताइएको छ ।

गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट गेटामै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका स्थलगत अनुगमन निरीक्षणका क्रममा कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराएका थिए ।

सरकारको निर्णयसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा यो देशकै पहिलो विश्वविद्यालय बन्ने भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *