गर्मीमा मुटुको समस्या हुनबाट कसरी जोगिने ?

96
Shares

काठमाडौँ, २९ जेठ । केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका छन् ।

तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ ।

डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

 जोगिने उपाय :

प्रशस्त पानीको सेवन : काममा घरबाहिर निस्कनुअघि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खानुपर्छ । त्यस्ता व्यक्तिले नुनरचिनी, पानी र कागतीको सर्बतले खाइरहने गरे शरीरमा खनिज, लवण र पोटासियमको सन्तुलन बिग्रन पाउँदैन ।

पानीले शरीरको तापक्रम सामान्य राख्छ । यसले जोर्नीलाई चिप्लोसँगै गद्दाजस्तै बनाउँछ । यसले स्पाइनल कर्डसँगै अन्य संवेदनशील तन्तुहरूलाई जोगाउँछ ।

नियमित आवश्यकता अनुसार एक–दुई घण्टाको फरकमा प्रशस्त पानी पिउने र शरिरमा पानी प्रयाप्त भए नभएको आफ्नो पिसाव सफा छ छैन हेर्नुपर्छ । अन्य स्वस्थ्य मानिसले पनि मौसम गर्मी हुँदा वा व्यायाम गर्दा त अझ बढी तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ ।

फलफूल र जुसको सेवन गर्नेः  फलफूलमा पाइने खनिज तत्वहरुले शरिरलाई पसिनाको माध्यमबाट हुने खनिजको कमीलाई पूर्ति गर्छ र रक्तचाप र मुटुको क्रियाकलाप लाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

चियारकफीको सेवन नगर्ने : चियाकफीका कारण शरीरमा पानीको कमी झन् हुन थाल्छ । चियारकफीमा पाइने कैफिनले पिसाबको मात्रा बढाएर शरिरमा पानीको मात्रालाई कमी गर्छ, अत्यधिक गर्मीमा चियारकफीको सेवन कम गर्नु फाइदाजनक हुन्छ ।

धुमपान तथा मद्यपान नगर्ने : धुमपान तथा मद्यपान स्वास्थ्यका लागि लाभदायक हुँदैन । त्यसमा पनि गर्मीको समयमा गरिने धुमपानले शरीरलाई सुख्खा राख्न बल पुग्दछ भने मदिरा सेवनले पिसाबको मात्रा बढाएर शरीरमा पानीको मात्रालाई कमी गर्छ ।

गर्मीमा ब्यायाम गर्दा होस पुर्‍याउने : सकेसम्म कम गर्मी भएको बेला (बिहान) हिँड्ने, ब्यायाम अगाडि पछाडि गर्ने बेलामा पानी पिउने । बिहान वा साँझमा घर बाहिरको काम वा व्यायाम गर्न सकिन्छ ।

सकभर घरभित्रै बस्ने : गर्मीको मौसममा चर्को घाममा लागेका बेला घर बाहिर निस्कनु स्वास्थ्यका लागि निकै जोखिम मानिन्छ । सकेसम्म घरभित्रै बस्नुपर्छ ।

यदि घरभित्रै बस्दा पनि दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ । सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैन । निस्कनै पर्ने अवस्थामा टोपी वा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कनुपर्छ ।

चर्को घामबाट बच्ने : दिउँसोको सूर्यको किरणबाट बच्नुपर्छ । अति बढी परिश्रम पर्ने कामहरू कम गर्नपर्छ । बाहिर निस्कने बेलामा छाता, टोपी, चश्मा, पातलो तथा खुकुलो कपडा र सन स्क्रिनको प्रयोग गर्न सकिन्छ ।

उपयुक्त कपडा प्रयोग गर्ने : जोखिम समूहका व्यक्तिहरूले बढी गर्मीमा हल्का लुगा लगाउनुपर्छ । सिन्थेटिक, नाइलन, पोलिस्टरको सट्टा सुतीका लुगा लगाउनुपर्छ । टाइट र गाढा रङका लुगा लगाउनु हुँदैन ।

यी माथि उल्लेख गरिएका विभिन्न उपायहरुका बारेमा सचेत र सजग हुन सकेमा गर्मी याममा हुनसक्ने जोखिमबाट बच्न सकिन्छ । अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल रक्तचापको परीक्षण गराउनुपर्छ । यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *