नेपाली औषधी उद्योगलाई गुणस्तरीय बनाउन सकारात्मक छु : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ, २८ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले नेपाली औषधी उद्योगलाई गुणस्तरीय बनाउने कुरामा आफू सकारात्मक रहको बताएका छन् ।
आइतबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।
सो कार्यक्रममा मन्त्री बस्नेतले जनताका लागि राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा कही कतै झन्झट भएमा आफू उत्पादकको पक्षमा रहने बताए। उनले औषधी उत्पादनमा आत्मनिर्भर बन्ने तर्फ सहकार्य गर्न मन्त्रालय सधै तयार रहेको बताएका छन् ।
कार्यक्रममा औषधी उत्पादक संघका तर्फबाट संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपालमा औषधी उत्पादनको इतिहासबारे जानकारी गराउदै यसको विकासमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा जानकारी गराए ।
तीस भन्दा बढी प्रकारका अति आवश्यक औषधी समेत उत्पादन गरिरहेको जानकारी दिदै उनले भारत र बंगलादेशमा आफ्ना उद्योग संरक्षण गर्न कस्ता नीति र योजना बनाएको छ भन्नेबारे समेत जानकारी दिएका थिए।
त्यसैगरी नेपालमा औषधी आत्मनिर्भर तर्फ अगाडि बढाउन नेपालमा बनेका ऐन कार्यान्वयन नहुनु अर्को चुनौती रहेको समेत बताए।
कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सरकारले तय गरेका नेपाली औषधिहरु प्रवद्र्धनका सबै नीति नियमहरु कार्यन्वयन गर्न नसकिएको बताए ।
औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाली औषधिहरु गुणस्तरयुक्त भएको तर नेपाली समाजको मनोवृत्ति आयातीत सामानलाई मात्रै विश्वास गर्ने भएकाले नेपाली औषधि उद्योग फस्टाउन नसकेको बताए ।
त्यसैगरी कार्यक्रममा स्वास्थ्य पत्रकार मन्चका अध्यक्ष सरोज ढुंगेलले नेपाली उद्योगले भोगिरहेका समस्या र चुनौतीहरु अनेक भएकाले उद्योगी र सरोकारवाला निकायहरु एकै ठाउँमा बसेर यस क्षेत्रका विकासबारे छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
सम्पर्क इमेल : [email protected]