राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले मनायो आफ्नो १८ औँ स्थापना दिवस
कतै जनचेतनामुलक कार्यक्रम, कतै बाँढियो बिरामीलाई फलफुल, कतै भयो रक्तदान कतै निशुल्क स्वास्थ्य शिविर
काठमाडौँ, २७ जेठ । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्नो १८ औँ स्थापना दिवस मनाएको छ । देशभर रहेका जिल्ला कमिटि, उपत्यका विशेष कमिटी, प्रदेश तथा केन्द्रीय कमिटीले विविध कार्यक्रम गरी आज यो दिवस मनाएको हो ।
महासंघका अध्यक्ष डा झलक गौतमले देशका ४० वटा जिल्ला कमिटीले आज रक्तदान शिविरको आयोजना गरी यो दिवस मनाएको बताए । उनले ती शिविरबाट १७० युनिट भन्दा बढी रक्त संकलन भएको जानकारी दिए ।
यता महासंघको स्थापना दिवसकै अवसर पारेर शनिबार उपत्यका विशेष प्रदेश कमिटीले आज भक्तपुरको गुण्डुमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष डा प्रेणितकुमार पोखरेलको नेतृत्वमा भएको शिविरको उद्घाटन गर्न पूर्व उद्योगमन्त्री एवं एमाले नेता महेश बस्नेत आएका थिए । शिविरमा जनरल हेल्थ चेकअप सहित अल्ट्रासाउण्ड, भिआईआईए टेष्ट लगायतका परीक्षणहरु गरिएको थियो । शिविरमा करीव २०० जनाले स्वास्थ्य परीक्षण गराएको डा पोखरेलले बताए ।
भक्तपुरमा जस्तै शिविर अरु १५ जिल्ला कमिटीले पनि गरेको महासंघका केन्द्रीय अध्यक्ष डा गौतमले बताए । त्यसबाहेक अस्पतालमा गएर बिरामीहरुलाई फलफुल दिने, जेल तथा अनाथालयमा गएर फलफुल तथा खाद्यन्न सहयोग गर्ने काम पनि भएको उनले जानकारी दिए ।
कतिपय जिल्लाले जनचेतनामुलक र्याली समेत निकालेको उनले बताए ।
यो संगठन विसं २०६२ साल जेठ २७ गते स्थापना भएको हो । लामो समय राष्ट्रिय स्वास्थ्यकर्मी संघको रुपमा परिचित यो संगठनले विसं २०७८ सालमा भएको आफ्नो चौथो महाधिवेशनका बेला नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ राखेको हो ।
अहिले यो संगठनको ७७ वटै जिल्ला, सात प्रदेशमा जिल्ला तथा प्रदेश तहका कमिटीहरु क्रियाशिल छन् । यसबाहेक उपत्यकामा विशेष प्रदेश कमिटी, ठूला अस्पतालहरुमा विशेष जिल्ला कमिटीहरु स्थापना भएको छ ।
महासंघमा पार्टी निकटका अरु ६ वटा घटकहरु रहेका छन् ।
सम्पर्क इमेल : [email protected]