भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन ल्याउने कुरा : दश वर्ष पुरानो, होला त यसपटक खरीद ?
काठमाडौँ, १६ जेठ । सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर क्यान्सर अस्पताल) मा पेट स्क्यान मेसिन र त्यसका लागि साइक्लोट्रोन खरीद गर्ने कुरा पुन: बजेटमा समावेश गरेको छ ।
अर्थ मन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/ ०८१ को बजेटमा ‘भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन तथा साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न आवश्यक रकम विनियोजन गरेको छु,’भनेर एउटा बुँदा घुसाईदिएका छन् ।
झट्ट सुन्दा खेरी यो नयाँ कार्यक्रम जस्तो पनि लागेको छ । तर यो विषय नयाँ होईन् ।
सरकारले १० बर्ष अघि नै भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन र त्यसमा प्रयोग हुने साइक्लोट्रोन खरीद गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा यो विषय घुसाएको थियो ।
त्यस यताका थुप्रै वर्षका बजेटमा यो पेटस्क्यान खरीदको लागि बजेट छुट्याइयो । तर खरीद गर्न सकेको छैन् ।
बरु यसबीचमा केही निजी अस्पताल तथा डाइग्नोस्टिक सेन्टरहरुले यो मेसिन खरीद गरी सेवा दिएका छन् । यद्धपी उनीहरुले पनि साइक्लोट्रोन आफै उत्पादन गर्न सकेका छैनन्, भारतबाट नै ल्याएर काम चलाएका छन् ।
पेटस्क्यानको कुरा कहिले होला पुरा ?
ठ्याक्कै दश वर्ष अघि २०७० असारको पहिलो साता पेटमा कालो दाग देखिएपछि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सरको आशंकामा थप उपचारका लागि जापान लगिएको थियो । जापानस्थित टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा पेटस्क्यान गरेपछि उनमा क्यान्सर नभएको पुष्टि भयो ।
जापानबाट फर्केलगत्तै तत्कालीन राष्ट्रपति डा. यादवकै विशेष निर्देशनमा पेटस्क्यान खरिद गर्न सरकार अघि सरेको थियो । सोहीअनुसार पहिलो वर्ष अर्थात् आर्थिक वर्ष ०७०/ ०७१ मा १६ करोड रुपैयाँ, आव ०७१/७२ मा ४५ करोड र आव ०७२/७३ मा पुन: ४० करोड रुपैयाँ विनियोजन गरेकोथियो । यस्तै आर्थिक वर्ष २०७३ /७४ मा पुन: ५५ करोड रकम विनियोजन गरेको थियो । तर बजेट आउने र फर्किने मै सिमित भयो । भरतपुरले केही वर्ष टेन्डर त निकाल्थ्यो तर सप्लायरहरुको मुद्धा झेल्न नसकेपछि बजेट फ्रिज गराउँथ्यो ।
त्यस यताको हरेक वर्ष पेट स्क्यानको कुरा उठि रहन्थ्यो । भरतपुरले नसकेपछि आर्थिक वर्ष २०७५ /७६ मा पेटस्क्यान मेसिन खरीद गर्न भन्दै वर्षको अन्तमा २० करोड रुपैयाँ स्वास्थ्य सेवा विभागलाई रकमान्तर गरिदियो । उसलाई मेसिन खरीद गरेर भरतपुर पठाइदिन जिम्मा दिइएको थियो । तर विभाग पनि के कम पेट स्क्यानको लागि रकमान्तर भएर आएको २० करोड रुपैयाँबाट ८ करोड २८ लाख ३६ हजार रुपैयाँ झिक्यो र सिटिस्क्यान मेसिन खरीद गरयो र राजविराज अस्पताल पठाइदियो ।
त्यस यता कुनै बर्ष पेट स्क्यानको कुरा हराउथ्यो भने कुनै बर्ष उदाउथ्यो । तर खरीदका लागि सरकार अघि बढ्न सकेको थिएन ।
पहिलो राष्ट्रपति डा रामबरण यादवको पालामा खरीद नभएको सो मेसिन क्यान्सर सर्भाइभरको रुपमा चिनिएकी त्यसपछिका राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा पनि खरीद हुन सकेन । संयोग कस्तो भयो भने अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल दुई महिना अघि बिरामी भएपछि थप परीक्षण तथा उपचारका लागि दिल्ली जानु परेको थियो । त्यसबेला उनलाई पेट स्क्यान परीक्षणको आवश्यक थियो थिएन एकिन भन्ने अवस्था छैन् , तर चिकित्सक स्रोतले उनी पनि थप परीक्षण गर्नुपर्ने भएकोले भारत लगिएको हो । काठमाडौँमा साप्ताहिक रुपमा चल्ने पेटस्क्यान मेसिनहरुमा अहिले बिरामीहरुको भिड लाग्ने गरेको छ ।
पेट स्क्यानसंग खरीद गर्न भनिएको साइक्लोट्रोन भनेको के हो ?
पेट स्क्यान गर्न पोजिट्रोन नामक विकीरण निकाल्ने एक प्रकारको विषेश औषधिको आवश्यकता पर्दछ जसलाई पेट ट्रेसर भनिन्छ । उक्त पेट ट्रेसर उत्पादन गर्न छुट्टै उपकरणको आवश्यकता पर्दछ जसमध्ये एउटा अत्यावश्यक उपकरण साइक्लोट्रोन हो ।
अतः पेट मेसिन मात्र स्थापना गरेर सञ्चालन गर्न सकिँदैन यसका साथै साइक्लोट्रोनको पनि स्थापना गर्न जरुरी पर्दछ । अथवा पेट ट्रेसर अन्य ठाउँबाट ल्याउनुपर्ने हुन्छ, जुन आफैँमा एउटा जटिल समस्या बनेकाले साइक्लोट्रोन समेत खरिद गर्ने भनिएको हुनसक्छ ।
भरतपुर क्यान्सर अस्पतालका पूर्व अध्यक्ष डा चीनबहादुर पुनका अनुसार पेट सिटी स्क्यानबाट मस्तिष्क तथा घाँटी, फोक्सो, कलेजो, स्तन, मिर्गौला तथा प्रोस्टेट न्युरोइन्डोक्रायन, पाठेघरलगायत अन्य धेरै प्रकारका क्यान्सरको परीक्षण गरिन्छ । क्यान्सर कुन अवस्थामा छ, स्टेजिङ क्यान्सर निको हुने सम्भावना कतिको छ भन्ने थाहा पाउन यसले प्रमुख भूमिका निर्वाह गर्छ ।
सम्पर्क इमेल : [email protected]