स्थान वा जनशक्ति तयार नभई उपकरण खरीद गर्ने अस्पतालहरुलाई स्पष्टीकरण सोध्दैछौँ – स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौँ, ६ जेठ । स्थान वा जनशक्ति तयार नगरी उपकरण खरीदमा अग्रसर हुने अस्पताल प्रमुखहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ । मन्त्रालयले स्थान वा जनशक्ति विना नै खरीद गरिएका उपकरणको खर्च मात्रै हुने भन्दै स्पष्टीकरण सोध्ने बताएको हो ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मेडिकल उपकरण खरीदको विषयमा आफू सुक्ष्म ढंगले अध्ययन गरिरहेको भन्दै यसमा गलत गर्नेलाई नछाडिने बताए ।
उनले खरीद गरेर दुई वर्षसम्म प्रयोग नभएका वा हुन नसकेका समानहरु स्वास्थ्य सेवा विभागले फिर्ता लिई आवश्यकता अनुसार अर्को अस्पताललाई मन्त्रालयको सहमतिमा हस्तान्तरण गर्नै समेत बताए ।
उनले अब उप्रान्त मेसिन खरीद गर्दा न्युनतम सेवा मापदण्डले औल्याए अनुसार मेसिन खरीद गर्नु पर्ने र मन्त्रालयसंग समन्वय गर्नु पर्ने समेत बताए ।
मन्त्री बस्तेनले प्रत्येक अस्पताललाई आउदो दुई वर्षको कार्ययोजना (सेवा विस्तार) बनाएर पेश गर्न लगाृउने र सो अनुसार पर्ने उपकरण मात्र खरीद गर्नुपर्ने व्यवस्था गरिएको समेत जानकारी दिए ।
उनले स्वास्थ्य सेवा विभागलाई उपकरण एवं जनशक्ति व्यवस्थापन सम्वन्धी अर्ध बार्षिक समिक्षा गरी ठोस कार्ययोजना बनाउने र चालु आर्थिक वर्षको लागि जेठ महिना भित्रै समिक्षा गर्न निर्देशन दिइएको समेत बताए ।
विश्व स्वास्थ्य महासभामा सहभागी हुन जेनेभा जाँदै मन्त्री नेतृत्वको टोली
यसैबीच आगामी २१ देखि ३० मे सम्म स्विजरल्याण्डको जेनेभामा हुने विश्व स्वास्थ्य संगठनको ७६ औँ महासभामा भाग लिन स्वास्थ्य मन्त्री बस्नेतको नेतृत्वमा छ सदस्यीय टोली शनिबार विहानै त्यस तर्फ प्रस्थान गर्नेछ ।
टोलीमा अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटा, सुर्खेत अस्पतालका मेसु डा डम्बर खड्का, उपचारात्मक सेवा महाशाखाका निर्देशक डा अनुप बास्तोला, पोमावती थापा र स्वास्थ्य मन्त्रीका स्वकीय सचिव रामेश्वर आचार्य रहेका छन् ।
मन्त्री बस्तेनले डब्लुएचओको महासभाको मुख्य एजेण्डा संगठनको नीति निर्माण गर्ने, वित्तीय नीतिहरुको सुपरीवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनारावलोकन र अनुमोदन गर्ने योजना रहेको सुनाए ।
उनले विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियाको क्षेत्रीय निर्देशकमा नेपालले उम्मेद्धारी दिन लागेको भन्दै त्यसका लागि पनि विभिन्न राष्ट्रसंग पैरवी गर्ने योजना रहेको बताए । नेपालले क्षेत्रीय निर्देशकमा डा शम्भु आचार्यलाई प्रस्ताव गरेको छ ।
सम्पर्क इमेल : [email protected]