ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

84
Shares

नवलपुर, ४ जेठ । उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पनि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा गैँडाकोटका ८६ वर्षीय नारायणप्रसाद सापकोटा दङ्ग छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य परीक्षणसहितको सेवा उपलब्ध गराएपछि उनी खुसी भएका हुन् । “उमेर ढल्किदै गएपछि हामीलाई यताउता हिँड्डुन गर्न समस्या भएको छ”, उनले भने, “यसरी वडा कार्यालयले टोलमै स्वास्थ्य सेवा दिन थालेपछि स्वास्थ्य परीक्षण गर्न र औषधि उपचारका लागि सहज भएको छ ।” गाउँमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि दिने गरेका सापकोटाले बताए ।

गैँडाकोट–८ कालिका टोलकी ८१ वर्षीया राममाया कँडेल यसअघि उपचारका लागि चर्को घाममा हिँडेर स्वास्थ्यचौकी तथा अस्पताल पुग्ने गर्थे । अहिले घरआँगनमै उपचार पाउँदा खुसी लागेको उनले बताए । “सामान्य उपचारका लागि हिँडेरै स्वास्थ्यचौकी वा अस्पताल पुग्नुपथ्र्यो”, उनले भने, “अहिले घरमै स्वास्थ्य जाँचको सुविधा पाएका छौँ ।” यसैगरी गैँडाकोट–८ की ७९ वर्षीया मनरुपा सापकोटाले कालिका मन्दिर कालिका आश्रममा पुगेर बुधबार स्वास्थ्य परीक्षण गराए । उनलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराए । “बल्ल स्थानीय सरकार रैछ भन्ने आभास भएको छ”, उनले भने ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको बताए । उनले गैँडाकोट–८ मा सुरु भएको यो कार्यक्रम नगरका अन्य वडामा पुर्‍याउने गरी कार्यविधि निर्माण भइरहेको बताए । ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउँदा अस्पताल पुर्‍याउन समस्या हुने भएकाले पालिकाले विशेषज्ञ चिकित्सकसहितको टोली घरमै पठाएर सेवा दिन थालेको उनको भनाइ छ ।

गैँडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटाले वडा कार्यालयको आर्थिक सहयोग एवं आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा वडाका हरेक टोलमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताए ।

वडाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा मात्रै नभएर अरु बेलामा पनि नियमित स्वास्थ्य परीक्षण गराउन उनले ज्येष्ठ नागरिकलाई आग्रह गरे । वडाका ११ वटै टोलमा पालैपाले नियमितरुपमा स्वास्थ्य शिविर सञ्चालन गरिने वडाध्यक्ष सापकोटाको भनाइ छ । शिविरमा रक्तचाप, मधुमेह, रुघाखोकी, ज्वरोलगायतका बिरामीलाई औषधिसमेत वितरण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *