छात्रा मृत्यु प्रकरणमा चितवन मेडिकल कलेजका २ शिक्षक निलम्बित

चितवन, २८ वैशाख । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्वन गरेको छ ।

वुधबार दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका-४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए ।

परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर-१०मा रहेको भाडाको घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्।

विद्यार्थीहरुले शिक्षकले तनाव दिएको र सो तनावकै कारण आत्महत्या गरेको आरोप लगाएका छन्। घटनाको विषयलाई लिएर विद्यार्थीहरुले डेन्टलको ओपीडी सेवा बन्द गरेका थिए । पीडितले न्याय र पीडकलाई सजाय नभएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपिडि सेवा अनिश्चितकालका लागि बन्द गर्ने विद्यार्थी सङ्घर्ष समितिले जनाएको थियो ।

कलेजले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको र अनुसन्धानलाई सहजीकरण गर्न तथा विद्यार्थीहरुको मागलाई मध्यनजर गरेर दुई शिक्षकलाई निलम्वन गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले घटनाको विषयमा पीडित पक्ष, कलेज प्रशासनसँग बसेर सहमती भएको बताए। उनले घटना पछि परिवारजनले थापाको शव बुझेको जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *