सुर्तीजन्य पदार्थमा कर बढाउन मेरो पहल हुनेछ : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ, २७ बैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्न आफ्नो तर्फबाट भरपुर प्रयास गर्ने बताएका छन् ।
उनले स्वास्थ्यको बजेट घटिरहेको र नसर्ने रोगको उपचारमा समस्या भइरहेको अवस्थामा सबैभन्दा उपयुक्त विकल्प सुर्तीजन्य पदार्थमा कर बृद्धि गर्नु रहेको भन्दै उनले आफ्नो तर्फबाट कर बृद्धिका लागि प्रयास गर्ने बताएका हुन् ।
विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा करको दर ७५ प्रतिशत पुर्याउन सुझाव दिएको छ । नेपालमा भने सुर्तीजन्य पदार्थमा करको दर ४० प्रतिशतको आसपासमा छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले सुर्तीमा कर बढाउँदा देशका लागि दुई किसिमको फाइदा हुने बताए ।
‘पहिलो सुर्तीजन्य पदार्थको मूल्य महंगो हुन्छ र त्यसपछि उपभोगमा कमी आउँछ र उपभोगमा कमी हुँदा स्वास्थ्यका लागि फाईदा हुन्छ । दोस्रो कर बढाउँदा आम्दानी बढ्छ र त्यो आम्दानी क्यान्सर लगायतका नसर्ने रोगको उपचारमा खर्च गर्न सकिन्छ । यसैले मैले सुरु देखि नै यो कदम चाल्नु पर्छ भन्दै आएको छु,’ उनले भने ।
मन्त्री बस्नेतले कुल बजेट ६ प्रतिशतले घट्ने देखिएको भए पनि स्वास्थ्यको सिलिङ ४० प्रतिशतले घटेर आएको सुनाउँदै उनले स्वास्थ्यको स्रोत बढाउन पनि सुर्तीजन्य पदार्थको कर को दर बढाउन खोजेको बताए । उनले सरुवा रोगमा विदेशी संस्थाले पनि सहयोग गरेको बताउँदैं नसर्ने रोगको लागि आफ्नै बजेट मिलाउनुपर्ने भएपछि त्यो गाह्रो भएको बताए ।
सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य बीमा लगायतका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कदम चाल्ने समेत बताए ।
सम्पर्क इमेल : [email protected]