वर्षौसम्म बनेनन् बिग्रिएको एम्बुलेन्स, चर्को मूल्य तिरेर गाडी चढ्छन् बिरामी

64
Shares


सिन्धुपाल्चोक, २७ वैशाख । सिन्धुपाल्चोकका– १२ स्थानीय तह र अस्पतालमा रेहका अधिकांश एम्बुलेन्स बिग्रिएपछि बिरामीहरू चर्को मूल्य तिरेर भाडाका गाडीमा चढ्न बाध्य भएका छन्।

जिल्लाका आधादर्जन भन्दा बढी एम्बुलेन्स समयमा नै मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका हुन्। भोटेकोसी गाउँपालिकामा एम्बुलेन्स बिग्रिएको वर्षौं भइसक्दा पनि मर्मत हुनसकेको छैन। इञ्जिन समस्याका कारण थन्किएको एम्बुलेन्समर्मत गर्ने हो भने पुनः सञ्चालनमा ल्याउन सकिन्छ।

गाउँपालिका कार्यालयको आँगनमा थन्किएर बसेको सो एम्बुलेन्स मर्मत नगरिँदा भोटेकोशीका बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित रहेको स्थानीय साङ्बु शेर्पा बताउनुुहुन्छ।

त्यस्तै बाह्रबिसे नगरपालिकाको चाकुमा थन्किएर बसेको एम्बुलेन्स मर्मतका लागि नगरपालिकाले ध्यान दिएकै छैन। अस्पतालको गेटमा एम्बुलेन्स थन्किएको छ।

बिरामीलाई भने उपचार गराउनका लागि अन्य अस्पताल जान झण्झट हुने गरेको छ। सरकारी एम्बुलेन्स बिग्रिएका कारण बिरामी चर्को मूल्यतिरेर भाडाको गाडी प्रयोग गर्न बाध्यभएको स्थानीय वाशु बडालको भनाइ छ।

बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेत भने नगरमा रहेका बिग्रिएका एम्बुलेन्स मर्मत गरेर सहज रुपमा बिरामीलाई अस्पताल पुर्‍याउन सहयोग गर्ने बताए।

भोटेकोसी र बाह्रबिसेमा मात्र होइन इन्द्रावती, मेलम्ची र हेलम्बु गाउँपालिकाको एम्बुलेन्स पनि मर्मत नहुँदा थन्किएका छन्। स्वास्थ्य कार्यालयको अभिलेखमा जिल्लामा ४० वटा एम्बुलेन्स दर्तामा रहेको तथ्याङ्क छ।

जसमध्ये सातवटा एम्बुलेन्स त कामै नलाग्ने गरी महिनौँंदेखि बिग्रिएर थन्किएका अवस्थामा छन्।

स्वास्थ्य कार्यालयका अधिकृत अनुप अधिकारीले बिग्रेका एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको बताए। स्वास्थ्य उपचार सरकारको पहिलो प्राथमिकतामा परे पनि उपकरण अवस्था नाजुक छ।

कुल एक सय तीन वडा रहेको सिन्धुपाल्चोकमा एम्बुलेन्स सेवा पर्याप्त छैन। त्यसमा पनि सरोकारवाला निकायले ध्यान नदिँदा सेवाग्राहीले सधैँ सास्ती भोग्नु परेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *