बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्नु भन्दै पुन: सूचना
तीन महिना अघि जारी गरिएको सूचना पछि भयो त अनुगमन ?

काठमाडौँ, २७ बैशाख । सरकारले सुर्तीजन्य पदार्थको बिक्री स्थलमा (पोइन्ट सेल)मा भइरहेको सुर्तीजन्य पदार्थको विज्ञापन रोक्न पुन: सूचना जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले आज पुन: सूचना जारी गर्दै बिक्री स्थलमा भइरहेको सुर्तीजन्य पदार्थको विज्ञापन रोक्न पुन सूचना जारी गरेको हो ।
केन्द्रले यहि सूचना गत ११ माघ सबै स्थानीय तहलाई सम्वोधन गर्दै चिठी मार्फत सार्वजनिक गरेको थियो । तर स्थानीय निकायले सो सूचना अनुसार बिक्री स्थलको अनुगमन र विज्ञापन बन्द गरेको खवर सार्वजनिक भएको छैन् । यद्धपी यही बीचमा केही स्थानीय तहले केही सुर्तीजन्य पदार्थको बिक्री वितरणमै रोक लगाएको भने खबर सार्वजनिक भएको थियो ।
सूचना जारी गरेर अनुगमन नगर्दा, कानुन उल्लंघन गर्नेहरुले निर्वाध रुपमा आफ्ना गल्ती दोहोरयाई रहेका छन् । सूचनामा कार्वाही गर्ने चेतावनी दिए पनि कारवाही गर्न नसक्दा उलंघनकर्ताहरु हौसिएका हुन् ।

किन जारी गर्नु पर्यो फेरी सूचना ?
कानून त नेपालमा सुर्तीजन्य पदार्थको तस्बीर, ब्राण्ड र दर रेट सहितको मूल्य सूची कहि कतै देखिने गरी राख्न पाईदैन । तर अहिले चुरोट कम्पनीहरुले खुद्रा किराना तथा होलसेल अनि चिया पसलका यत्रतत्र दररेट सहितका मूल्य सूची र प्याकेटका तस्विरहरुका पोष्टर बनाई टाँगिरहेका छन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनले २० खिल्लीको प्याकेट बाहेक खुद्रा वा थोरै खिल्ली राखेर प्याकेट बनाउन रोकेको छ तर निर्वाध रुपमा खिल्ली र मिनी प्याकेट साइज चुरोट विक्री भइरहेका छन् । यसरी खुल्ला रुपमा विक्रीवितरण हुँदा विद्यार्थी तथा किशोर किशोरीहरुमा चुरोटको लत बढाएको विज्ञहरुको निस्कर्ष छ । तर उद्योगीहरुले नयाँ पुस्तालाई लक्षित गर्दै विभिन्न छुट अफर र फ्लेवरका विज्ञापन गर्दै खुद्रा चुरोटको विक्रीलाई झन् झन् बढाउँदै गएका छन् ।
केन्द्रले बुधबार यहि विषयमा सूचना जारी गर्दै ध्यानाकर्षण गराएको छ । केन्द्रले कानूनमा भएको व्यवस्थाको उल्लंघन गरे कारवाहीको भागिदार हुनु पर्ने भन्दै चेतावनी समेत दिएको छ ।
सूचनामा भनिएको छ, ‘सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरुले खुद्रा किराना, होलसेल, लगायत अन्य पसलहरुको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दररेट सहितको मूल्य सूची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १० , सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१,को दफा ४० र ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ विपरित भएकोले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट, विडी, गुड्खा आदिका मूल्य सूची उल्लेखित पोष्टर टाँस हटाउने व्यवस्था गर्न र सोको अनुगमन गर्न हुन अनुरोध गरिन्छ । यदि टाँस गरेको पाइएमा सुर्तीजन्य पर्दा नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम चुरोट कम्पनीहरुलाई सजाय जरिवाना गर्न सकिने व्यवस्था रहेको समेत जानकारीका लागि अनुरोध गरिन्छ ।,’
नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण बार्षिक २७ हजार बढी व्यक्तिको ज्यान जाने गरेको छ । अर्वौ रुपैयाँ उपचारमा खर्च हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई रोक्न सकिने मृत्यु भन्ने गरेको छ । सरकारले पनि यसलाई नियन्त्रण गर्न कडा कानून बनाएको छ । तर कानून कार्यान्वयन भने फितलो भएको छ ।
अहिले हरेक चियापसल, चुरोट विक्री स्थलमा देखिने गरी कम्पनीका विज्ञापनहरु देख्न सकिन्छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

