पेटभित्रका अंग शरीर बाहिर निस्किएको अवस्थामा जन्मिएकी शिशुको सफल शल्यक्रिया
लमजुङ, १३ वैशाख । आन्द्राभुँडी, कलेजोलगायत पेटभित्रका अंग शरीर बाहिर निस्किएको अवस्थामा जन्मिएकी एक शिशुको शल्यक्रिया सफल भएको छ ।
लमजुङ अस्पतालमा आइतबार दिउँसो २ बजेतिर जन्मिएकी शिशुको ३ बजेतिर शल्यक्रिया गरिएको हो । यो असाधारण शल्यक्रिया भएको चिकित्सकहरुले बताएका छन् । ।
एकजना ३० वर्षीया महिलाले ५ औँ सन्तानको रुपमा जन्माएकी ती शिशुको अवस्था असाधारण थियो । अस्पतालका अनुसार यो नौलो केस हो ।
शल्यक्रियामा संलग्न जनरल सर्जन डा.सुलभराज भण्डारीका अनुसार एक महिला सुत्केरी हुने क्रममा आन्द्राभुँडी, कलेजोलगायत शरीरका भित्री भाग नाइटोबाट बाहिर निस्किएको र झिल्लीले मात्रै छोपेको अवस्थामा शिशु जन्मिएको थियो ।
उनका अनुसार नवजात शिशुमा जन्मजात देखिने यो रोगलाई ‘अम्फलसिल’ भनिन्छ । ‘शरीरको भित्री भाग नाइटोबाट बाहिर निस्कएको र एउटा झिल्लिले छोपेको अवस्थामा बच्ची जन्मियो । सुत्केरी नर्मल भएको हो । बुझिनेगरी भन्दा बाहिर निस्किएको भागलाई सबै भित्र राखेर छालालाई सिलाएका छौं,’ उनले भने ।
शिशु जन्मिँदा ३ किलोग्रामकी थिइन् । आमाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार शिशुलाई स्पेशल न्युन्याटल केयर युनिट(एसएनसीयू) मा राखेर उपचार जारी छ । ‘यस्तो केस यदाकदा सुनिए पनि हामीले पहिलोपटक भोगेका छौं । यसको सफल शल्याक्रिया गर्नुलाई हामीले लमजुङ अस्पतालले गरेको सफल कामको रुपमा हेरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्य बताए । उनका अनुसार नजवात शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
डाक्टरहरुका अनुसार यस्तो समस्या बच्चा गर्भमा भएको बेला पौष्टिक आहार, भिटामिन, आइनरलगायत नपुगेका कारण हुने गर्दछ ।
शल्यक्रियामा जनरल सर्जन डा. सुलभराज भण्डारी, डा रामकुष्ण खत्री, डा रेशम गुरुङ, नर्स सुजता लामा लगायतको टोली संलग्न रहेको थियो ।
सम्पर्क इमेल : [email protected]