डाक्टर सासंदले स्वास्थ्य मन्त्री बन्नका लागि भन्दै व्यापारीसंग मागे दुई करोड रुपैयाँ
काठमाडौँ, २६ चैत । स्वास्थ्य मन्त्री बन्न पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनु पर्ने भन्दै एक जना सांसदले व्यापारीसंग पैसा मागेको अडियो सार्वजनिक भएको छ ।
सांसद डा ढाकाकुमार श्रेष्ठले व्यापारी दुर्गा प्रसाईंसंग पैसा मागेको अडियो सार्वजनिक भएको हो ।
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट व्यवस्थापिका संसदको प्रतिनिधि सभामा समानुपातिक तर्फबाट सांसद बनेका हुन् ।
उनको भनिएको अडियोमा आफू स्वास्थ्य मन्त्री बन्ने भएको र त्यसका लागि पार्टीका सभापति रवि लामिछानेका मान्छेलाई बुझाउन रकम चाहिएको उल्लेख छ ।
अडियोमा व्यापारी प्रसाईँले उनलाई रकम दिने आश्वासन समेत दिएका छन् ।
आज सार्वजनिक भएको यो अडियो कहिलेको हो भन्ने थाहा हुन सकेको छैन् ।
गत ३ माघमा स्वास्थ्य मन्त्री नेकपा एमालेका तर्फबाट पदम गिरी र स्वास्थ्य राज्यमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा तोसिमा कार्की नियुक्त भएका थिए । त्यसबेला डा तोसिमासंगै डा ढाकाकुमार श्रेष्ठको पनि स्वास्थ्यमा आउने चर्चा थियो ।
स्वतन्त्र पार्टीकै कतिपय सांसदले त्यसबेला स्वास्थ्य मन्त्री बन्ने लाइनमा स्वतन्त्र पार्टी भित्र डा कार्की भन्दा डा श्रेष्ठ बलियो भएको बताएका थिए । तर राज्यमन्त्रीको रुपमा डा कार्की मन्त्री बनेकी थिईन् ।
अडियोमा डा श्रेष्ठले सहकर्मी सांसद डा कार्कीलाई मन्त्री भए पनि काम छैन भनेका छन् ।
उनले प्रसाईँलाई मिलेर काम गर्ने आश्वासन समेत दिएका छन् ।
यस्तो छ उनीहरुबीचको कुराकानी
दुर्गा प्रसाईं: ए नमस्ते के छ हालखबर?
डा ढाकाकुमार श्रेष्ठ : म पनि भर्खर-भर्खर उठेको।
दुर्गा: ए अनि त्यही त मैले पनि राति फोन अफ गरेँ। अफ भनेको सुत्न टाइम भएर चार्ज गरेर सुतेँ। अनि खासचाहिँ के हो कुरा अलिकति भन्नु त डाक्टर साब।
डा ढाकाकुमार श्रेष्ठ: स्वास्थ्य हामीले पाउने भयो… कोर टिम छ। दुई तीन जनाको। तिनीहरूले भनिराखेका छन्। दुई जति चाहियो भनेर मलाई हिजो। मेरो पक्काचाहिँ पक्का भयो। आज मैले फिक्स गर्नुछ के सर। अब म फेरि आर्थिकमा त्यस्तो साह्रै उ छैन। मन्त्री पनि बन्नुपर्यो। फेरि यो स्वास्थ्य क्षेत्र धोइपखाली गरेर, पूरा सुधार पनि गर्नुछ। मैले धेरै गर्नुपर्छ भनेर सोच गरेको छु। त्यसमा अब हजुरहरूको साथ, सहयोग, चाहियो भन्नेकुरा हो के अब।
दुर्गा प्रसाईं: मैले एउटा कुरा बुझ्न खोजेको डाक्टरसाब, राष्ट्रिय स्वतन्त्र पार्टीमा म त डाक्टर भनेको तोसिमा कार्की मात्रै छिन् भनेर बुझेको थिएँ त।
डा ढाकाकुमार श्रेष्ठ: हैन नि। हामी तीन जना छौं।
दुर्गा प्रसाईं: को-को छन् ?
डा ढाकाकुमार श्रेष्ठ: म भएँ, तोसिमा र चन्दा कार्की।
दुर्गा प्रसाईं: ए चन्दा म्याम पो हुनुहुन्छ त है। डाक्टर साबको घर कहाँ हो?
डा ढाकाकुमार श्रेष्ठ: मेरो घर पोखरा हो सर।
दुर्गा प्रसाईं: अनि एमबिबिएस कहाँ गरेको?
डा ढाकाकुमार श्रेष्ठ: मैले चाइनामा…
दुर्गा प्रसाईं: अनि एमडी?
डा ढाकाकुमार श्रेष्ठ: अहिले मैले एमडी गरेको छैन। एमबिबिएसमात्रै हो। पछिचाहिँ अर्कै पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ।
दुर्गा प्रसाईं: अब हेर्नुस् है धेरै समस्या छ स्वास्थ्य क्षेत्रमा। अब देशमा भएका सबै नर्सिङ कलेज बन्द गराए। आज नर्स पढ्न पाउँदैनन्। मैले त जहिल्यै भनेको छु नि। दुबईमा चेलिबेटीले डान्सबारमा डान्स गर्नुभन्दा नर्स पठाऔं। हो कि हैन। भन्नु त।
विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ। पढाऔं। कति राम्रो कुरा गरेको मैले। अहिले त मैले डाक्टर उत्पादन गरौं। बरू सय वटा मेडिकल कलेज खोलौं। होकि हैन।
डा ढाकाकुमार श्रेष्ठ: हो, हो। हो नि।
दुर्गा प्रसाईं: अनि डाक्टरसाबको नाम ढकबहादुर कि के हो?
डा ढाकाकुमार श्रेष्ठ: ढाकाकुमार श्रेष्ठ।
दुर्गा प्रसाईं: ढाकाकुमार श्रेष्ठ। अच्छा मैले कुरा बुझेँ। सल्लाह गरेर अघि बढौंला। अनि फेरि। तपाईंसँग मैले भन्न खोजेको। अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा।
डा ढाकाकुमार श्रेष्ठ: मुकुलजीलाई त थाहा छैन सर यो। मुकुलजी पनि कोर टिममा हुनुहुन्न के…
दुर्गा प्रसाईं: ए।
डा ढाकाकुमार श्रेष्ठ: बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई-तीन जना छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षणदेखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई-साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन्। पछि चेक दिएँ भनेपनि मान्छन् एक-दुई दिन..
दुर्गा प्रसाईं: आज फेरि बन्द छ। सुन्नुस है। कुरा। बैंकबाट ९ लाख ९९ हजार भन्दा माथिको चेक साटिँदैन। हेर्नुस् है। अब क्लियर कुरा। म दिन्छु। म सहयोग गर्छु। तपाईंले भनिहाल्नुभयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।
डा ढाकाकुमार श्रेष्ठ: हैन त्यो त म गर्छु। मलाई त यो दिक्क लाग्छ के गोविन्द केसी देखेर नि। कहिले मर्छजस्तो लाग्छ। एमबिबिएस पढ्न नपाएको पनि तिनैले नै गर्दा हो।
दुर्गा प्रसाईं: अनि मैले मेरो छोरीलाई टोकियो पठाउनुपर्यो तीन करोड तिरेर एमडी गराउनको लागि। यहाँ आफ्नोमा रेडिएसन अन्कोलोजी पढाउन पाइन मैले।
डा ढाकाकुमार श्रेष्ठ: त्यही त सर। यो बेथिति छ।
दुर्गा प्रसाईं: मेरो त हेर्नुस् न कति मरेको छु। मेरो मेडिकल कलेज हेर्नुस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अन्चलमा ३२ लाख पपुलेशन छ। म मरेको छु कि छैन भन्नुस् त। म त मर्न मात्रै बाँकी छ।
डा ढाकाकुमार श्रेष्ठ: त्यही त। यो हटाउनुपर्छ यस्तो कुराहरू। यसको समाधान गर्नुपर्छ।
दुर्गा प्रसाईं: अनि शिक्षाचाहिँ कसले लिने भयो सर? भाइ?
डा ढाकाकुमार श्रेष्ठ: शिक्षा हामीलाई परेनजस्तो छ सर।
दुर्गा प्रसाईं: शिक्षाचाहिँ सायद हजुरबुवाले राखेका होलान्।
डा ढाकाकुमार श्रेष्ठ: अँ होला।
दुर्गा प्रसाईं: किनभने मलाई अफिलियसन दिनुपर्नेछ हजुरबुवाले। अब किनभने सबैकुरा सक्केको छ हौ काठमाडौं युनिभर्सिटीले नि तपाईको अफिलियसन दिएको छ। सिट मात्रै तोकेको छैन। नारायणकाजीको मान्छे हो नी त्यो गिरी। त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्यो।
डा ढाकाकुमार श्रेष्ठ: ल निश्चिन्त हुनुहोस्। तपाईं म मिलेर काम गर्ने हो।
दुर्गा प्रसाईं: भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ। भोलि बेलुकी नै म काठमाडौं आउला। अब तपाईंलाई गर्ने सहयोग म गर्छु। तपाईंले जुन भन्नुभयो नि दुई। म आएर गरौंला। तर अलिकति टाइम लाग्छ है पैसा त्यत्तिकै निस्किँदैन। हचुवामा। मिलाएर निकाल्न पर्छ। बैंकले जम्मै सिस्टम खोज्छ। त्यति सजिलो छैन। बाकसमा भ्वाकभ्वाक निकालेर गाह्रो छ। कुरा बुझ्नुभयो के। कसैले पनि दिन सक्दैन आजको आज पैसा।
दुर्गा प्रसाईं: यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नि हैन?
डा ढाकाकुमार श्रेष्ठ: अँ.. मैले रवि सरलाईभन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।
दुर्गा प्रसाईं: तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस्। सत्य कुरा। तपाईं र म भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ? कुरो बुझ्नुभएन?
तपाईंलाई म उ दिन्छु। आइडिया दिन्छु। यो दुई करोडको ग्यारेन्टी भयो। म दिन्छु। पिर नगर्नु। तपाईं अघि बढ्नुस्। है। अब फेरि तोसिमाले लडाइँ त गर्दिनन् नि? तोसिमा कार्कीले?
डा ढाकाकुमार श्रेष्ठ:: हैन गर्दैनन्। गर्दैनन्। टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।
दुर्गा प्रसाईं: ए… ल। अब यस्तो भयो नी त। तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। किन भन्नु न। गोविन्द केसीको मान्छे भनेको छ नि कहीँ कुरै गर्न मिल्दैन। उसँग डराउँछन्।
डा ढाकाकुमार श्रेष्ठ: तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नी।
सम्पर्क इमेल : [email protected]