सोलुखुम्बुमा मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिए

340
Shares

काठमाडौँ, ३ मंसिर । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित एक मतदान केन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत फेला परेका छन् ।

फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनीलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन खोज्दा ओछ्यानमै मृत भेटिएका हुन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ ।

त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ ।

मृत्यु हुनेमा सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बू रहेको जनाएको छ । मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले जानकारी दिए ।

उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको पोखरेलले बताए । उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिन् । उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *