स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति

सोलुखुम्बु, २० कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन्। स्थापित यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनले बताइन् ।
अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरिन्। यसका लागि स्थानीय तहको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो ।
सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले बताइन् ।नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन्।
स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिइन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




