विश्व दृष्टि दिवसको अवसरमा स्वास्थ्य पत्रकारहरुको आँखा जाँच
आँखा जाँच अघि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ, २७ असोज । विश्व दृष्टि दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले विहीबार स्वास्थ्य पत्रकारहरुको निशुल्क आँखा जाँच गरिदिएको छ । नेपाल दृष्टि विशेषज्ञ संघ र तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रमा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारीहरुले पनि आँखा जाँच गराएका थिए ।
महाशाखाले सो कार्यक्रममा ३५ जना पत्रकार र ५५ जना कर्मचारी गरी कुल ९० जनाको आँखा जाँच गराएको बताएको छ ।
आँखा जाँच कार्यक्रमको संयोजक दृष्टि विशेषज्ञ दीपक कुमार साहले अधिकांश स्वास्थ्य पत्रकारहरुमा आँखा सुख्खा हुने र दृष्टि दोषको समस्या पाइएको बताए । उनले धेरै कम्प्युटर तथा ग्याजेट्सहरुका स्क्रिनमा बसेर काम गर्नु पर्ने भएकोले पनि धेरै पत्रकारहरुको आँखा सुख्खा र दृष्टि दोषको समस्या भएको हुन सक्ने बताए ।
आँखा जाँच कार्यक्रम अघि विभागले विश्व दृष्टि दिवसको अवसरमा बृहत अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, तिलगंगा आँखा केन्द्रका बरिष्ठ नेत्र विशेषज्ञ डा रिता गुरुङ, व्लाइन्ड वोमेन एसोसिएशनका सल्लाहकार मिरा अधिकारी, इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ व्लाइन्डनेश (आईएपिवि)का युद्धध्वज सापकोटा सहभागी थिए ।
कसले के भने ?
कार्यक्रममा आफ्नो धारणा राख्दै विभागका महानिर्देशक डा सिंहले स्वास्थ्य शिक्षा साक्षरता बढाउनु आवश्यक रहेको बताए । उनले आँखा स्वास्थ्यको सामान्य विद्यालय तह देखि नै राखिनु पर्ने र सबैलाई त्यसको ज्ञान हुनुपर्ने बताए । उनले अबको चुनौती आँखा सेवा नपुगेको ठाँउमा पुर्याउनु रहेको बताए । उनले आँखा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति थपिदै गएको भन्दै यसको व्यवस्थापन तर्फ जोड दिनु पर्ने बताए ।
तिलगंंगा आँखा प्रतिष्ठानका डा गुरुङले राज्यले आँखा उपचार र आँखा स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रमलाई संगसंगै अघि बढाउनु पर्ने बताईन् । उनले समयमै उपचार गर्न सके कम खर्चमा सम्भव हुने भन्दै विकट क्षेत्रका जनतालाई सो सेवा पुर्याउन अब राज्य लाग्नु पर्ने बताईन् । उनले आफूहरुले स्वास्थ्य वीमा कार्यक्रम मार्फत पनि सेवा दिईरहेको भन्दै त्यसमा तोकिएको खर्च भने कम भएको गुनासो गरिन । गाँउ गाँउमा आँखा स्वास्थ्यको समस्या रहेको भन्दै यसका लागि राज्यले थप नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने सुझाव दिईन् ।
व्लाइन्ड वोमेन एसोसिएशनका सल्लाहकार मिरा अधिकारीले शिक्षा नै सबै भन्दा ठूलो कुरा रहेको भन्दै आँखाको प्राथमिक उपचार बारे विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नु पर्ने बताईन् । उनले आम अभिभावक पनि आँखा स्वास्थ्यको विषयमा सचेत र चनाखो हुनुपर्ने बताईन् । उनले आफू ७ बर्षको उमेरमा दृष्टिविहीन बनेको भन्दै त्यसबेला टाइफाइडको समयमै उपचार भएको भए आफूले यो अवस्था भोग्न नपर्ने बताईन् ।
कार्यक्रममा आईएपीवीका दक्षिणपूर्वी एशिया संयोजक युद्धध्वज सापकोटाले नेपालमा बार्षिक करीव ४ लाख व्यक्तिको मोतियाविन्दु शल्यक्रिया गर्नु पर्ने भएपनि १ लाख ५० हजार व्यक्तिको मात्रै शल्यक्रिया हुने गरेको भन्दै दीगो विकासका लक्ष्य हालिस गर्नका लागि चुनौती रहेको बताए । उनले आँखा स्वास्थ्य आँखाको मात्रै विषय नभएको भन्दै सामाजिक आर्थिक विषयसंग पनि गासिएर आएको बताए ।
उनले आँखा स्वास्थ्यका कारण विश्वमा बार्षिक ४११ अर्व डरल उत्पादकत्वमा घाटा हुने गरेको ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानले देखाएको दावी गरे । उनले आँखाको उपचारमा २४ अर्व डलर मात्रै खर्च गरे सो घाटा पूर्ति हुने तथ्य प्रस्तुत गरे ।
कार्यक्रमको सहजीकरण नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुुमार मिश्रले गरेका थिए ।
कार्यक्रममा दृष्टि विशेषज्ञ संघका अध्यक्ष निरजदेव जोशीले चस्मा लगायतका आँखा स्वास्थयमा प्रयोग हुने डिभाइसको विक्री वितरण गैर स्वास्थ्यकर्मीहरुले गर्ने गरेको भन्दै यसलाई यसलाई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्रै वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
यस्तै नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले नेपालमा आँखा अस्पताल र जनशक्ति प्रयाप्त भएपनि उपचारका लागि विरामी आउन नसकेको बताए । उनले यसका लागि जनचेतना बढाउने र उपचारको पहुँच बढाउने योजनामा राज्यको नीति हुनुपर्नेमा जोड दिए । उनले अब स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
सम्पर्क इमेल : [email protected]