गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए ।
“समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ”, प्रधानमन्त्री देउवाले भने । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे ।
उनले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पु¥याउन काम गरिरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताए ।
कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरे । “सरकारले देशको कुल बजेटको जम्मा पाँच दशमलव ७५ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रका लागि एकदमै न्यून हो”, उनले भने । नेता कोइरालाले कुनै पनि देशलाई समृद्ध बनाउनका लागि स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताए । जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य र शिक्षा मन्त्रालयलाई आगामी दिनमा कांग्रेस आफैँले राख्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस पूर्व महामन्त्री डा शशाङ्क कोइरालाले दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न प्रजातन्त्रवादी प्राध्यापक सङ्घले भूमिका खेल्नुपर्ने बताए । आगामी मङ्सिरमा हुन लागेको निर्वाचनमा चिकित्सकहरूलाई टिकट दिएर सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्वास्थ्य सल्लाहकार डा आरपी विच्छाले वर्तमान सरकारले सबै नेपालीलाई खोपको सुनिश्चितता गरेर प्रशंसनीय काम गरेको बताए । “कोरोनाको उपचारमा खटिएका चिकित्सक तथा नर्सलाई भत्तादेखि लिएर चिकित्सकको सुरक्षाका लागि बनेको ऐन पास गरेर चिकित्सा क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको छ”, उनले भने ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की, प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा केदारनरसिंह केसी, प्रजातन्त्रवादी चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठलगायतले नेपालका हरेक आन्दोलनमा नेपालका चिकित्सकले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै चिकित्सकलाई संसद् र पार्टीका विभिन्न तहमा ठाउँ दिन आग्रह गरे ।
विसं २०६६ मा स्थापना भएको प्रजातन्त्रवादी चिकित्सक सङ्घले सातै प्रदेशमा आफ्नो प्रदेश शाखा स्थापना गरी चिकित्सकको हक, हित र अधिकारका क्षेत्रमा काम गर्दै आएको सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले जानकारी दिए। सो अवसरमा प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा केसी, लक्ष्मीराज पाठक र महासचिव डा।मुक्तिराम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




