‘हृदय’ लिएर आउँदै प्राडा भगवान कोइराला
विशेष संस्करणको मूल्य २५ हजार रुपैयाँ !
काठमाडौँ, १३ भदौ । बरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाको आत्मकथा ‘हृदय’ छिटै सार्वजनिक हुने भएको छ । यो पुस्तक विशेष र नियमित गरी दुई संस्करणमा सार्वजनिक हुँदैछ ।
पुस्तक प्रकाशक फाइन प्रिन्टका अनुसार विशेष सस्करण आगामी २५ भदौमा सार्वजनिक हुँदैछ । नियमित संस्करण प्राप्त गर्न भने पाठकहरुले थप एक साता कुर्नु पर्ने छ । असोजको पहिलो साता देखि नियमित संस्करण बजारमा आउने फाइन प्रिन्टले जनाएको छ ।
फाइन प्रिन्टका अनुसार पुस्तकको कन्टेन्ट एउटै भएपनि विशेष संस्करण र नियमित संस्करणमा पुस्तकको मूल्य फरक छ । विशेष संस्करणको मूल्य २५ हजार रुपैयाँ तोकिएको छ भने नियमित संस्करणको ५७५ रुपैयाँ मात्रै ।
फाइन प्रिन्टले विशेष संस्करणको मूल्य धेरै बढी राख्नुको पछाडी डा कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) को निर्माण सहयोगार्थ हो ।
काठमाडौंसहित सबै प्रदेशमा स्थापना हुन लागेको बाल अस्पतालका लागि सहयोग मिलोस् भनेर नै पुस्तकको विशेष संस्करणको मूल्य २५ हजार राखिएको फाइनप्रिन्टले जनाएको छ।
हृदयमा आफूले जीवनमा भोगेका संघर्षका अनुभव, स्वास्थ्य क्षेत्रमा देखेका समस्या र सुल्झाउने उपाय तथा चिकित्सा शिक्षाका विविध विषयलाईसमेत विश्लेषणात्मक धारणासहित प्रस्तुत गरिएको डा कोइरालाले बताएका छन्।
उनले विशेष संस्करण २५ भदौका दिन विशेष लोकार्पण हुने बताए । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ। विशेष संस्करणलाई डा कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसंख्या अंकित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन्।
विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अंकित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ।
नियमित संस्करणको पनि ५० प्रतिशत रोयल्टी किओचलाई हस्तान्तरण गर्ने डा कोइरालाले बताएका छन्। विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले रोयल्टी केही नकटाई सिधै अस्पताललाई हस्तान्तरण गर्नेछन्।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ९किओच० हाल काठमाडौंको बुढानिलकण्ठमा निर्माणधीन अवस्थामा छ। साथै, त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा ५० शय्याको बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ।
पुस्तकको विशेष संस्करण एक हप्तापछि फाईन प्रिन्टकै वेभसाइटबाट र ९८०८२२४४६४ मा फोन गरेर अर्डर गर्न सकिनेछ।
सम्पर्क इमेल : [email protected]